डाेल्पान्युज डेक्स
डोल्पा, भदौ ९ – ठूलीभेरी नगरपालिका जुफालमा बालविवाह रोकथाम आवधिक रणनीतिक योजना निर्माण र बालअधिकार समिति गठनबारे बैठक सम्पन्न भयो।
नगर प्रमुख श्वर्णकुमार बुढाको अध्यक्षतामा भएको बैठकमा २५ जना सहभागी थिए।बैठकमा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत , वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुख, स्वास्थ्य र प्रहरी प्रतिनिधि, गैसस तथा सरोकारवालाको उपस्थिति थियो। कार्यक्रम ठूलीभेरी नगरपालिकाको आयोजना तथा बालविवाह विरुद्धको साझा अभियान सञ्जाल डोल्पाको सहकार्यमा सम्पन्न भएकाे हाे।
बैठकमा हालसम्मका गतिविधि समीक्षा गर्दै आगामी दिनमा सामूहिक प्रयासमार्फत बालविवाह अन्त्य गर्ने रणनीति तयार पार्ने निर्णय भएकाे छ। सहजीकरण रणबहादुर कार्की र प्रेम सिंहले गरेका थिए।प्रेम सिंहले बालअधिकार समिति गठन र कार्यविधिबारे प्रस्तुति दिए भने कार्कीले संयुक्त राष्ट्रको सहयोगमा तयार बालविवाह रोकथाम योजना र संरक्षण कोषको मस्यौदा प्रस्तुत गरेका थिए।
बैठकले आवधिक योजना र संरक्षण कोष कार्यविधिको मस्यौदा परिमार्जन गर्ने र भदौ मसान्तसम्म नयाँ बालअधिकार समिति कार्यविधि तयार गर्ने निर्णय गर्दै ३ सदस्यीय संरक्षक समिति तथा ९ सदस्यीय निर्माण समिति गठन गरेको छ।संरक्षक समितिमा श्वर्णकुमार बुढा – नगर प्रमुख छिरिङ टोमा महत – उपप्रमुखडिलप्रसाद रोकाया – प्रमुख प्रशासकीय अधिकृत रहेका छन ।यसैगरी निर्माण समितिमा भीमबहादुर रोकाया (संयोजक)
मनदिपा बुढा, केशव सुनार, सुनिल गुरुङ, हंसकला भाट्ट, कल्पना भण्डारी रणबहादुर कार्की, प्रेम सिंह रहेका छन ।
धामी–धामीनीसँग लैङ्गिक समानता र मानवअधिकार विषयक अन्तरक्रिया
ठूलीभेरी नगरपालिका–७ मा रहेका धामी–धामीनी तथा धार्मिक अगुवासँग एक दिने अन्तरक्रिया समेत सम्पन्न भएकाे छ। समाज जागरण केन्द्र (SAC Nepal) र बालविवाह विरुद्धको साझा अभियान सञ्जाल डोल्पाको आयोजनामा भएको कार्यक्रममा बालअधिकार, बालविवाह र लैङ्गिक हिंसा रोकथाम, यौन तथा प्रजनन स्वास्थ्य अधिकारलगायत मानवअधिकारसम्बन्धी अभिमुखीकरण दिइएकाे थियाे।
नेपालको संवैधानिक र कानुनी व्यवस्था प्रस्तुत गरिनुका साथै धामी–झाँक्रीप्रतिको जनआस्था, लैङ्गिक समानता, अन्धविश्वास र हानिकारक परम्परा अन्त्यका उपायबारे छलफल भएकाे थियाे।
११ वटै वडाबाट २२ जना आमन्त्रित भए पनि १८ जना सहभागी थिए ,जसमा ४ जना महिला थिए। सहजीकरण SAC डोल्पाका परियोजना संयोजक प्रेम सिंह र साझा अभियान सञ्जाल कर्णालीका सचिवालय सदस्य रणबहादुर कार्कीले गरेका थिए ।
बालविवाह, बहुविवाह, महिनावारी प्रथा, दाइजो, लैङ्गिक तथा घरेलु हिंसा, बोक्सी आरोपजस्ता अभ्यास अन्त्यमा धार्मिक अगुवाको भूमिकाबारे सुझाव संकलन समेत गरिएको थियाे। 
धामीहरूले बिरामीलाई स्वास्थ्य संस्थामा पठाउने प्रथालाई निरन्तरता दिने बताएका छन्। उनीहरूको भनाइमा देवी–देवताको पूजा सदाचार र न्यायका लागि हो, अन्याय वा हिंसाका लागि होइन भन्ने सामुहिक सन्देश दिएका छन ।
कार्यक्रमले आस्था र परम्परालाई सम्मान गर्दै लैङ्गिक समानता र मानवअधिकार प्रवर्द्धनमा धार्मिक अगुवाको सक्रिय भूमिका आवश्यक रहेको निष्कर्ष निकालेकाे सहजकर्ता रणबहादुर कार्कीले बताए ।

डोल्पा न्यूज । ९ भाद्र २०८२, सोमबार १८:४४