ताजा समाचार

ठूलिभेरी नगरपालिकामा योजना तथा बजेट प्रक्रियामा नागरिक संलग्नता नीतिको तयारी

विष्णुप्रसाद देवकोटा 

डोल्पा, जुफाल ।डोल्पाको प्रमुख नगरमध्ये एक, ठूलिभेरी नगरपालिका अब नागरिकको सक्रिय सहभागीता सुनिश्चित गर्ने दिशामा ठोस कदम चाल्दैछ। योजना तथा बजेट निर्माण प्रक्रियामा नागरिक संलग्नताको सुनिश्चितता गर्न ‘नागरिक संलग्नता नीति’ तयार पारिने भएको छ।

यस नीतिको प्रारम्भिक छलफल तथा निर्माणका लागि युनिसेफ नेपाल र कर्णाली एकीकृत विकास तथा अनुसन्धान केन्द्र (किडार्क) नेपाल को समन्वयमा नगरपालिकामा सरोकारवालाहरूको सहभागितामा एक विशेष बैठक सम्पन्न भयो। बैठकमा नगरस्तरमा नीति निर्माणको खाका तयार पार्दै यसलाई नगर कार्यपालिकाबाट पारित गरि कार्यान्वयनमा लैजाने निर्णय गरिएको छ।

कार्यक्रममा परामर्शदाता टिकादत्त न्यौपानेले योजना तथा बजेट निर्माण प्रक्रियामा नागरिक संलग्नताको महत्व, उद्देश्य र कार्यान्वयनको सम्भावित स्वरूपबारे प्रष्ट पार्दै सहभागीहरूलाई जानकारी गराउनु भएकाे थियाे ।

उहाले भन्नु भयाे, “नागरिकको सहभागिता बिना विकासको अवधारणा अधूरो हुन्छ। नीति निर्माणबाट हामी सहभागी बजेटको संस्कृति विकास गर्न चाहन्छौं।”

बैठकमा नगरप्रमुख सुवर्ण कुमार बुढा, उपप्रमुख छिरिङ टोल्मा महत, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलप्रसाद रोकाया, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, र विषयगत शाखाका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सरोकारवालाहरूले नीति निर्माणलाई स्वागत गर्दै यसको सफल कार्यान्वयनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

ठूलिभेरी नगरपालिकाले यो पहलमार्फत शासनमा पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक कार्यशैलीको अभ्यास गर्ने अपेक्षा गरिएको छ। निकट भविष्यमा नीति मस्यौदा तयार गरि सार्वजनिक परामर्श पश्चात कार्यान्वयनमा ल्याइने नगरप्रमुख शुवर्ण कुमार बुढाले बताउनु भयाे ।

तपाईको प्रतिक्रिया