ताजा समाचार

आत्महत्या न्युनिकरण सम्बन्धि जनस्वास्थ्य सेवा कार्यालयकाे अभिमुखिकरण

डोल्पाको त्रिपुरासुन्दरीमा नगरपालिकामा आत्महत्या न्यूनीकरण सम्बन्धि  एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका २ स्थित त्रिपुराकोट माध्यमिक विद्यालयमा जनसंख्या व्यवस्थापन कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा कार्यालय डोल्पाको  आयोजनामा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

पछिल्लो समय देशैभरी बढिरहेकाे आत्महत्याका घटना ,राेकथामकाे उपाय र यसमा विद्यार्थीको भूमिकाबारे कार्यक्रममा  प्रकाश पारिएकाे थियाे ।आत्महत्या सम्बन्धी गलत धारणा तथा वास्तविकताहरु  सरोकारवाला निकायहरूले खेल्नु पर्ने भूमिकाको बारेमा समेत बताइएको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ)को तथ्यांक अनुसार विश्वभरी वर्षमा ७ लाख जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन् । प्रत्येक आत्महत्याले कम्तीमा १ सय ३५ जनालाई प्रत्यक्ष असर पार्दै आइरहेको छ ।

कर्णाली प्रदेश लगायत देशैभरी आत्महत्याका घटनाहरु वृद्धि भएसँगै डोल्पामा यस्ता घटनाको न्यूनीकरण गर्न यो कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाकी डा.सुष्मिता जोशीले बताइन् ।

विद्यार्थीहरुद्वारा नै समाजमा यस्ता घटनाको न्यूनीकरण गर्न सहज हुने उद्देश्यले यो जिल्लास्तरीय कार्यक्रम त्रिपुराकोट माविमा गरिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डा.रत्नवीर सुनारले बताए ।

मस्तिष्कले सिर्जना गरेको नकारात्मक रसायनका कारण आत्महत्या गर्ने गरेको उनको भनाइ छ । अहिले मानिसहरू सकारात्मक भन्दा नकारात्मक कुरामा ध्यान दिने गरेकोले पनि समाजमा आत्महत्याका घटनाहरु वृद्धि हुने गरेका छन् ।

कार्यक्रममा उपस्थित त्रिपुरासुन्दरी नगरपालिका शिक्षा समितिका प्रमुख तथा वडा नं १ का अध्यक्ष रामचन्द्र कुलालले समाजमा जनचेतना फैलाउनको  लागि विद्यार्थीहरुको भूमिका  आवश्यक रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य सेवा कार्यक्रम डोल्पाका प्रमुख डा.सुनार, वडा अध्यक्ष कुलाल, त्रिपुराकोट स्वास्थ्य चौकीका प्रहरी नायब निरीक्षक रमेश बहादुर सिंह, विद्यालयका शिक्षक , विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी, त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तुल बहादुर श्रेष्ठ, स्वास्थ्य  सेवा कार्यालय डोल्पामा कार्यरत स्वास्थ्यकर्मी, लगायत जिल्लास्थित सञ्चारकर्मीको उपस्थित रहेको थियो ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!