ताजा समाचार

बर्दिया राष्ट्रिय निकुञ्जमा गजराजकाे सडक अवरुद्धकाे सन्देश

विष्णुप्रसाद देवकोटा

बर्दिया, साउन २१।बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने अमरेनीदेखि कर्णाली चिसापानीसम्मको खण्डमा जङ्गली हात्तीको झुण्डले करिब डेढ घन्टासम्म सडक अवरुद्ध गरेको छ।

२०८२ साउन २० गते (बुधबार) बेलुका करिब ५ बजेदेखि शुरु भएको उक्त घटनामा सवारी साधन रोकिएर यात्रुहरू अलपत्र परेका थिए। जङ्गली गजराजहरूको समूहले सडकमै बसेर सवारी रोकिदिएपछि सडक दुबैतर्फ अवरुद्ध भएको हो।

यसबारे जानकारी दिँदै बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सराजमणि पौडेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत घटना सार्वजनिक गरेका छन्। उनका अनुसार निकुञ्जभित्रका यस्ता घटना जैविक मार्गमा पर्ने क्षेत्रहरूको संवेदनशीलता दर्शाउने उदाहरण हुन्।

“निकुञ्ज, वन क्षेत्र र वन्यजन्तु आवागमन हुने मार्गमा बन्ने पूर्वाधारहरू ‘वन्यजन्तु मैत्री’ हुनैपर्छ,” पौडेलले लेखेका छन्, “त्यसैले विकास र वातावरणबीच सन्तुलन कायम गर्नु अहिलेको प्रमुख आवश्यकता हो।”

विशेषज्ञहरूका अनुसार वन्यजन्तुहरूको ऐतिहासिक मार्गमा निर्माण गरिने सडक, ड्याम वा अन्य संरचनाहरूले उनीहरूको गतिविधिमा असर पार्ने हुँदा यस्तो क्षेत्रमा वन्यजन्तु क्रसिङ, अन्डरपास वा ओभरपास जस्ता वैकल्पिक उपायको प्रयोग गर्नुपर्ने आवश्यकता बढ्दो छ।

प्रकृतिसँग सहकार्यमा गरिने पूर्वाधार विकासले मात्र मानव र वन्यप्राणीबीचको सहअस्तित्व सम्भव हुने बताउँछन्।

यो

तपाईको प्रतिक्रिया