ताजा समाचार

नवरात्र,नवदुर्गा र विजयादशमी

डाेल्पान्युज डेक्स

हामी पौरस्त्य दर्शन-सभ्यताका अनुयायी हौँ। वेद हाम्रो अनादि ज्ञान परम्पराको आधारभूमि हो। त्यही वेदबाट विकसित हुँदै हाम्रा धार्मिक पद्धति, संस्कार-संस्कृति, चाडपर्व आदि सनातन रूपमा अविच्छिन्न चलि आएका छन्।

 त्यही वेदबाट पुष्पित र पल्लवित भएर आजसम्म आइपुग्दा हाम्रो सनातन सभ्यताले विराट् रूप लिन पुगेको छ। हामी सनातनी हौँ।

सबै देवी-देवताहरूको अभेद रूपमा सगुण,निर्गुण स्वरूपको उपासना गर्दछौँ। हाम्रा चाडपर्व र तिनीहरूमा गरिने धार्मिक कृत्यहरू हाम्रै जीवन पद्धतिसँग जोडिएका छन् भने ती सबै वैज्ञानिक एवं जगत्-हितका लागि बनेका छन्।

 हिन्दू धर्मावलम्बीहरूको महान् पर्व विजया दशमी एवं नवरात्र नजिकिँदै गरेको छ।हाम्रो सनातन परम्परामा तीन वटा रात्री एवं चार वटा नवरात्रलाई विशेष मानिन्छन्। तीन रात्री भनेको कालरात्री,महारात्री र मोहरात्री हुन्।

कालरात्री शारद नवरात्र अर्थात् आश्विन शुक्ल अष्टमीमा मनाइन्छ। महारात्री भनेको शिवरात्री हो। यो फाल्गुन कृष्ण त्रयोदशीमा मनाइन्छ।

मोहरात्री भनेर श्रीकृष्ण जन्माष्टमीको रातलाई भनिन्छ। यो भाद्रकृष्ण अष्टमीमा मनाइन्छ। त्यसैगरी चार वटा नवरात्र मध्ये दुई वटा गुप्त नवरात्र र दुई वटा व्यक्त नवरात्र हुन्।

गुप्त नवरात्र आषाढ शुक्ल प्रतिपदा देखि र माघ शुक्ल प्रतिपदादेखि नौ दिनसम्म मनाइन्छ र व्यक्त नवरात्र भनेको एउटा शारद नवरात्र र अर्को वासन्त नवरात्र हो।

विजयादशमी आश्विन शुक्ल प्रतिपदाको दशमी तिथिमा मनाइन्छ, जसलाई शारद नवरात्र पनि भनिन्छ। आश्विन कृष्ण प्रतिपदादेखि औंशीसम्मको १६ दिनलाई सोह्र श्राद्ध वा पितृपक्ष भनिन्छ भने त्यो सकिए लगत्तै प्रतिपदादेखि नवरात्र सुरु हुन्छ।

`नवानां रात्रीणां समाहार:´अर्थात् नौ रातको समूहलाई नवरात्र भनिन्छ। प्रतिपदादेखि लिएर नवमीसम्म नौ दिन भगवती दुर्गाको विशेष पूजा गरी मनाइने भएकाले यसलाई नवरात्र भनिएको हो। भगवान श्रीकृष्णले गीतामा भन्नुहुन्छ – परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्। धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे।। अर्थात् साधुजनको उद्धार गर्न र पापीहरूको विनाश गर्न मैले समय-समयमा अवतार लिनेछु। भगवती दुर्गा शक्ति-स्वरूपा हुनुहुन्छ।

आद्यशक्ति जगज्जननी दुर्गादेवीले पनि असुरहरूको विनाश गर्न र देवताहरूको रक्षा गर्नका लागि बेला-बेला अवतार लिनु हुन्छ।

महाकाली,महालक्ष्मी,महासरस्वती जस्ता विभिन्न रूप लिएर भगवती दुर्गाले आफ्ना भक्तहरूको कल्याण गर्नु हुन्छ।

 त्यसैगरी शैलपुत्री, चन्द्रघण्टा आदि नौ स्वरूपहरूमा भगवती देवीले महिषासुर,शुम्भ-निशुम्भ आदि असुरहरूको वध गर्नुभयो। ती नौ वटै स्वरूपहरूको क्रमशः नौ दिनसम्म पूजा,आराधना गरी मनाइने हुँदा यसलाई नवरात्र भनिएको हो।

१)शैलपुत्री `प्रथमं शैलपुत्री च´। अर्थात् देवीको पहिलो रूपलाई शैलपुत्री भनिन्छ।`शैलस्य पुत्री´अर्थात् हिमालयकी पुत्री पार्वती नै शैलपुत्री देवी हुनुहुन्छ।शैलपुत्री देवीले हातमा त्रिशूल र कमलको फूल लिनुभएको छ,भने शिरमा अर्धचन्द्रलाई धारण गर्नुभएको छ। नवरात्रको पहिलो दिनमा घटस्थापना आदि कार्यहरू गर्दै शैलपुत्री देवीको उपासना गर्दा मनोवाञ्छित फल प्राप्त हुन्छ।

२)ब्रह्मचारिणी `द्वितीयं ब्रह्मचारिणी´नवदुर्गाको दोस्रो रुपलाई ब्रह्मचारिणी भनिन्छ।`ब्रह्म चारयितुं शीलं यस्याःसा ब्रह्मचारिणी´अर्थात् परब्रह्मस्वरूप परमात्मालाई प्राप्त गराइदिने जसको स्वभाव छ, त्यस्ती देवीलाई ब्रह्मचारिणी भनिन्छ। ब्रह्मचारिणी देवीले श्वेतवस्त्र धारण गरी एउटा हातमा रुद्राक्ष माला र अर्को हातमा अमृतले भरिएको कमण्डलु लिनुहुन्छ। नवरात्रको दोस्रो दिनमा ब्रह्मचारिणी भगवतीको उपासनाबाट ब्रह्मज्ञान एवं अमृततत्त्व प्राप्त गर्न सकिन्छ।

३)चन्द्रघण्टा `तृतीयं चन्द्रघण्टेति´ नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टा हो।`घन्टा इव चन्द्रः यस्यां सा चन्द्रघण्टा´ अर्थात् घण्टा आकारको चन्द्रमा जसको शिरमा छ,त्यस्ती देवी चन्द्रघण्टा हुनुहुन्छ। चन्द्रघण्टा देवीका दश वटा हात छन्। जसमा शङ्ख, चक्र,गदा,पद्म,तरवार,त्रिशूल, कमण्डलु आदि रहेका छन्। चन्द्रघण्टा देवी सिंहमा बसेर असुरहरूको विनाश गर्नुहुन्छ। यस दिनमा चन्द्रघण्टा देवीको उपासना गर्दा हाम्रा काम,क्रोध,लोभ,मोह आदि शत्रुहरूको विनाश भएर परमतत्त्वको प्राप्ति हुन्छ।

४)कूष्माण्डा `कूष्माण्डेति चतुर्थकम्´ नवदुर्गाको चौथो रूपलाई कूष्माण्डा भनिन्छ। `कुत्सितः उष्मा कूष्मा = त्रिविधतापयुत: संसार:,स अण्डे=मांसपेश्यामुदररूपायां यस्या:सा कूष्माण्डा´अर्थात् त्रिविधतापयुक्त संसार जसको उदरमा समाहित छ,उहाँनै कूष्माण्डा देवी हुनुहुन्छ। यस दिनमा कूष्माण्डा देवीको पूजा,आराधना गर्नाले हामीहरूका पाप,ताप,सन्तापहरू सबै विनाश हुन्छन्।

५)स्कन्दमाता `पञ्चमं स्कन्दमातेति´नवदुर्गाको पाँचौं रूप स्कन्दमाता हो।`स्कन्दस्य माता´अर्थात् भगवतीको शक्तिद्वारा उत्पन्न भएका कुमारको नाम स्कन्द हो।ती स्कन्दकी माता पार्वती नै स्कन्दमाता हुनुहुन्छ। स्कन्दमाताले काखमा कुमारलाई लिएर भक्तको कल्याण गर्नुहुन्छ।

६)कात्यायनी `षष्ठं कात्यायनीति च´सिंहमा विराजमान भएकी,चार हात भएकी नवदुर्गाको छैठौँ स्वरूपलाई नै कात्यायनी भनिन्छ।`कतस्य गोत्रापत्यं स्त्री´अर्थात् कात्यायन ऋषिकी पत्नी नै कात्यायनी हुनुहुन्छ।दुर्गा देवीले महिषासुरको वध यसै रूपमा गर्नुभएको हो। भगवती कात्यायनीको उपासनाले आसुरी शक्तिहरूको विनाश भएर धर्म,अर्थ,काम,मोक्ष आदि चतुर्विधपुरुषार्थहरू प्राप्त हुन्छन्।

७)कालरात्रि `सप्तमं कालरात्रीति´नवदुर्गाको सातौँ स्वरूपलाई कालरात्रि भनिन्छ।`कालस्य रात्रि:´अर्थात् सबैलाई नाश गर्ने वाला काल,त्यसकी पनि रात्रि(विनाशिका) भएकीले कालरात्रि नाम रहेको हो। कालरात्रि देवी कृष्ण वर्णकी,त्रिनेत्रधारी, चार हात भएकी,हातमा खड्ग र त्रिशूल लिएकी,भयंकर स्वभावकी हुनुहुन्छ। कालरात्री देवीको वाहन गधा हो। भगवतीले हाम्रा हृदयका कल्मष र अज्ञानलाई हटाएर सद्विवेक प्रदान गर्नुहुन्छ। नवरात्रको सातौँ दिनमा राति १२ बजे कालरात्रिको विशेष पूजा, आराधना गर्ने गरिन्छ।

८)महागौरी `महागौरीति चाष्टमम्´ नवदुर्गाको आठौँ रूप महागौरी हो।`महती चासौ गौरी´अर्थात् महागौरी देवी श्वेतवर्ण भएकी, परमसुन्दरी हुनुहुन्छ। महागौरीको वाहन साँढे हो। भगवती देवी श्वेतवस्त्रधारी,हातमा त्रिशूल लिएकी हुनुहुन्छ। महागौरी देवीको आराधना गर्नाले हामीहरूलाई अभय,आनन्द,ऐश्वर्य आदि प्राप्त हुन्छन्।

९)सिद्धिदात्री `नवमं सिद्धिदात्री च´नवदुर्गा भगवतीको नवौँ रूपलाई सिद्धिदात्री भनिन्छ।`सिद्धेःदात्री´अर्थात् अणिमा,लघिमा गरिमा,महिमा,प्राप्ति,प्राकाम्य,वशित्व र ईशित्व आदि गरिएका अष्टसिद्धिलाई प्रदान गर्ने देवीलाई नै सिद्धिदात्री भनिन्छ।सिद्धिदात्री देवी कमलको फूलमा बस्नुभएकी, चार हात भएकी,हातमा शङ्ख,चक्र,गदा,पद्म धारण गर्नुभएकी,देवता,असुरहरूद्वारा नित्य सेवित हुनुहुन्छ।

सिद्धिदात्री भगवतीको साधना गर्नाले हामीहरूलाई सिद्धि, ज्ञान र मोक्षपद प्राप्त हुन्छ। नवदुर्गा भगवतीले नवरात्रमा महिषासुर,शुम्भ-निशुम्भ चण्ड-मुण्ड आदि दैत्यहरूको वध गर्नुभएको थियो।

त्रेतायुगमा श्रीरामचन्द्र भगवान्ले जगज्जननी दुर्गा भगवतीको नौ दिनसम्म उपासना गरी दशमीका दिनमा रावणमाथि विजय प्राप्त गर्नुभएको भन्ने कुरा पुराणहरूमा विशद् वर्णन पाइन्छ। असत्यमाथि सत्यको विजय, आसुरी शक्तिमाथि दैवीशक्तिको विजय,दानवहरूमाथि देवताको विजय भएकाले यसलाई विजय उत्सवका रूपमा मनाउने प्रचलन छ।

नेपाल, भारत जस्ता अधिकांश हिन्दू मुलुकहरूमा प्रतिपदादेखि नवमीसम्म दुर्गा भगवतीको विशेष पूजा,आराधना गरी दशमीको दिनमा रातो अक्षता र जमरा लगाई आफूभन्दा ठूला व्यक्तिहरूको आशीर्वाद लिई दशैँ मनाउने गरिन्छ ।पं. ओमप्रकाश खरेलबाट

तपाइको प्रतिक्रिया

error: Content is protected !!