ताजा समाचार

त्रिपुराकोट बगर बजारमा अनुगमन, म्याद गुज्रेका सामान नष्ट

डाेल्पान्युज डेक्स

डोल्पा ।डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगर बजारमा चाडपर्व लक्षित पालिकास्तरीय अनुगमन गरिएको छ।

पालिकाकी उप–प्रमुख देवी घर्तीको संयोजकत्वमा भएको अनुगमनमा पालिकाको केन्द्रसमेत रहेको बगर बजारभित्र सञ्चालित विभिन्न पसल तथा व्यवसायको निरीक्षण गरिएको हो।

अनुगमनका क्रममा करिब ५४ हजार ९२० रुपैयाँ बराबरका म्याद गुज्रिएका सामान बरामद गरी नष्ट गरिएको नगरपालिकाका सूचना अधिकारी डा. हेमन्त शाहीले जानकारी दिए। बरामद वस्तुहरूमा प्राउन्ड, चिजबल, भ्यासलिन, सोडा, बिस्कुट, सस, मेहेन्दी, सेनेटरी प्याड, कपाल तेल, मसला, जिरा, पापड, भुजा, मैदा लगायतका सामग्री रहेका थिए।

सबैभन्दा बढी म्याद गुज्रिएको मैदा बरामद भएको र बरामद सबै सामान आवश्यक प्रक्रिया पूरा गरी त्रिपुराकोट प्रहरी चौकीमा नष्ट गरिएको नगरपालिकाले जनाएको छ।

अनुगमन टोलीमा उप–प्रमुख घर्ती, सूचना अधिकारी डा. शाही, कृषि अधिकृत दीपेन्द्र ऐडी, पशु प्राविधिक प्रदीप बाबु ढकाल, जनस्वास्थ्य निरीक्षक तुलबहादुर श्रेष्ठ, सब–इन्जिनियर जयप्रकाश साह र राहुल कुमार यादव, त्रिपुराकोट प्रहरी चौकीका नायब निरीक्षक यामबहादुर बस्नेत, नगर प्रहरी तथा बजार व्यवस्थापन समितिका पदाधिकारी सहभागी थिए।

नगरपालिकाले पछिल्ला दिनमा बजार अनुगमनलाई तीव्रता दिँदै आएको छ। सोही क्रममा त्रिपुराकोट बगर बजारका सबै व्यवसायलाई १५ दिनभित्र अनिवार्य रूपमा व्यवसाय दर्ता र नवीकरण गर्न निर्देशन समेत दिइएको उपप्रमुख देवि घर्तीले जानकारी दिइन।

तपाईको प्रतिक्रिया