ताजा समाचार

डाेल्पाकाे छलगाड लघुजलविद्युत पुनःसञ्चालन, ३५० घरधुरीमा उज्यालो फर्कियो

विष्णुप्रसाद देवकोटा

डोल्पा, भदौ १६ गते । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटस्थित छलगाड लघुजलविद्युत केन्द्रले सोमबारदेखि विद्युत आपूर्ति पुनः सुचारु गरेको छ। करिब दुई सातादेखि अन्धकारमा बस्न बाध्य भएका स्थानीयवासीहरूमा पुनः उज्यालो फर्किएपछि खुसीयाली छाएको छ।

भदौ २९ गते आएको भीषण बाढीले आयोजना परिसरस्थित नहर (क्यानल) र तटबन्ध पूर्ण रूपमा कटान गर्दा विद्युत उत्पादन बन्द भएको थियो। नहर कटानसँगै बाँधसमेत क्षतिग्रस्त हुँदा करिब ३५० घरधुरी अन्धकारमा बस्नुपरेको थियो।

विद्युत अवरुद्ध भएपछि विद्यालयका विद्यार्थीको अध्ययन–अध्यापन प्रभावित भएको थियो भने गाउँलेहरू राति टर्च र मट्टितेलकाे दियोमा भर पर्न बाध्य भएका थिए। दैनिक जीवनयापनमा समस्या मात्र नभई मोबाइल चार्ज गर्न, रेडियो/टेलिभिजन सञ्चालन गर्न समेत मुस्किल परेको स्थानीय माेहनचन्द्र राेकायाले बताए ।

त्रिपुरासुन्दरी–१ का वडाअध्यक्ष रामचन्द्र कुलालले नहर पुनःनिर्माणका लागि स्थानीयवासीहरूको सक्रिय सहभागिता र निरन्तर प्रयास भएको उल्लेख गर्दै गाउँवासीलाई उज्यालो दिन पुनः सफल भएको बताए। “सामूहिक प्रयासकै परिणामस्वरूप मर्मत कार्य छोटो समयमै सम्पन्न भयो,” उनले भने।

छलगाड लघुजलविद्युतका अपरेटर कमल प्रसाद हमालका अनुसार अस्थायी रूपमा मर्मत गरेर विद्युत आपूर्ति सुचारु गरिएको हो। तर दीर्घकालीन रूपमा सुरक्षित र दिगो बनाउन थप प्राविधिक काम आवश्यक रहेको उनले बताए।

स्थानीयहरूले अबका दिनमा यस्तो समस्या नदोहोरियोस् भनेर नहर र बाँधलाई दिगो ढंगले पुनःनिर्माण गर्न सरकार र सम्बन्धित निकायसँग माग समेत गरेका छन्।

तपाईको प्रतिक्रिया