रुकुम पश्चिम — रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ राडी बगरमा मंगलबार बिहान एक एम्बुलेन्स दुर्घटना भएको छ। आठबिसकोट नगर अस्पतालको रा १ झ १५५ नम्बरको एम्बुलेन्स क्याम्पस रोडमा अनियन्त्रित भई पल्टिएको हो।
दुर्घटना क्याम्पस रोड र सुन्दरपानी जाने बिचको सडकमा भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ।
ग्यारेजलाई दिइएको एम्बुलेन्स, मिस्त्रीले चलाउँदै
डोल्पान्यूजलाई प्राप्त जानकारीअनुसार उक्त एम्बुलेन्स आठबिसकोट–९ मा रहेको बब्लु ग्यारेजलाई भाडामा दिइएको थियो। ग्यारेजका मिस्त्रीले नै एम्बुलेन्स चलाइरहेका बेला अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनाका कारण एम्बुलेन्सको सिसा, झ्याल फुट्नुका साथै सिटसमेत भाँचिएको र गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाइएको छ।
नियमविहीन भाडा प्रथा, बिरामी मारमा
नगरपालिकाले लामो समयदेखि एम्बुलेन्स निजी व्यक्तिहरुलाई भाडामा दिँदै आएको छ। यस क्रममा गाडी प्रयोगमा आवश्यक सतर्कता र नियमको पालना नहुँदा बिरामीहरू जोखिममा पर्दै आएको स्थानीयले गुनासो गर्दै आएका छन्।

डोल्पा न्यूज । २३ बैशाख २०८२, मंगलवार ११:००