सुर्खेत, वीरेन्द्रनगर – कर्णाली प्रदेशमा पहिलोपटक आयोजना गरिएको ‘कर्णाली छोरी सम्मेलन–०८२’ १० बुँदे घोषणापत्र जारी गर्दै सोमबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ। श्री ज्योति फाउन्डेसन र कर्णाली प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा तीन दिनसम्म चलेको उक्त सम्मेलनले प्रदेशका ७९ वटै स्थानीय तहबाट आएका दुई सयभन्दा बढी छोरीहरूलाई आवाज दिने ऐतिहासिक अवसर प्रदान गर्यो।
‘कर्णालीका छोरी सशक्तीकरण’ अभियान अन्तर्गत गरिएको सम्मेलनको उद्देश्य कर्णालीका किशोरीलाई सचेत, सबल, सक्षम र आत्मनिर्भर बनाउँदै सामाजिक रूपान्तरणमा सक्रिय भूमिकामा ल्याउनु रहेको फाउन्डेसनकी अध्यक्ष ज्योति कटुवालले बताइन्।
सम्मेलनमा ‘कानुनी सेवामा छोरी’, ‘राजनीतिमा छोरी’, ‘छोरीका मनका कुरा’, ‘महिनावारी र मर्यादा’, ‘खेलकुदमा छोरी’ लगायतका शीर्षकमा छलफल र बहसहरू भए। सहभागिता मात्रै नभई नेतृत्वदायी भूमिकामा छोरीहरूलाई प्रस्तुत गराउने सम्मेलनले प्रदेशको नीति निर्माणमा छोरीहरूको धारणा र सुझाव समेट्न विशेष योगदान दिएको छ।
तीन दिने सम्मेलनको निष्कर्षस्वरूप जारी १० बुँदे घोषणापत्रमा बालविवाह, छाउपडी, भ्रूण हत्या, यौनिक तथा जातीय विभेद अन्त्य, किशोरीमैत्री स्वास्थ्य सेवा, गुणवत्तापूर्ण शिक्षा, जलवायु न्याय, महिनावारी व्यवस्थापन, खेलकुद र अतिरिक्त क्रियाकलापमा पहुँच तथा उच्च शिक्षामा छात्रवृत्ति सुनिश्चितता जस्ता विषय समेटिएका छन्।
घोषणापत्र अनुसार छोरीको उज्वल भविष्यका लागि विद्यालय र समुदायस्तरबाटै लैङ्गिक समानता सुनिश्चित गर्दै सबै तहमा बालमैत्री नीतिको निर्माण र कार्यान्वयन गरिने प्रतिबद्धता जनाइएको छ। किशोरी सञ्जाल गठन, जीवनोपयोगी सीप विकास, वित्तीय साक्षरता, प्राविधिक शिक्षाको पहुँच र रूपान्तरणकारी शिक्षामार्फत सामाजिक रूपान्तरण गरिने उल्लेख छ।
‘कर्णाली छोरी सम्मेलन–०८२’ ले कर्णालीका छोरीहरूलाई निष्क्रिय सुन्ने पात्रबाट सक्रिय नीति निर्माणकर्ता बनाउँदै, उनीहरूकै आवाजमा उनीहरूका हक–अधिकार सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण पाइला चालेको छ।

डोल्पा न्यूज । ३० बैशाख २०८२, मंगलवार ०१:३३