ताजा समाचार

त्रिपुराकोटमा बिश्व स्तनपान सप्ताह २०८२ भव्य रूपमा सम्पन्न

डाेल्पान्युज डेक्स

डोल्पा, साउन २० । बिश्व स्तनपान सप्ताह २०८२ को अवसरमा त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोट स्वास्थ्य चौकीमा स्तनपानको महत्त्वबारे जागरुकता अभिवृद्धि गर्ने उद्देश्यले भव्य कार्यक्रम सम्पन्न गरिएको छ।

“स्तनपानलाई प्राथमिकता दिऔँ: सहयोगी वातावरण निर्माण गरौँ” भन्ने नारालाई आत्मसात् गर्दै आयोजित उक्त कार्यक्रममा मातृस्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, गर्भवती तथा सुत्केरी आमाहरू, स्तनपान गराइरहेका महिलाहरू, साथै स्थानीय अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूमाझ स्तनपानका जैविक, सामाजिक, भावनात्मक र पोषण पक्षहरूबारे विस्तृत छलफल तथा परामर्श प्रदान गरिएको थियो। नवजात शिशुको प्रारम्भिक ६ महिनासम्मको पूर्ण स्तनपानको आवश्यकता, त्यसपछिको पूरक आहार र स्तनपानको निरन्तरताजस्ता विषयमा जानकारी दिइएकाे थियाे ।

कार्यक्रममा स्तनपान गराइरहेका आमाहरूको अनुभव सञ्जाल, व्यक्तिगत चुनौती तथा समाधानका उपायहरू साझा गरिँदा वातावरण अझै आत्मीय बनेको थियो। साथै, स्वास्थ्यकर्मीहरूले मातृ स्वास्थ्यका नियमित जाँच, पोषणयुक्त आहारको महत्त्व, स्वच्छता र परामर्श सेवाको पहुँचलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

त्रिपुराकोट स्वास्थ्य चौकीले यस्तो सन्देशमूलक कार्यक्रमले समुदायमा आमाहरूको आत्मविश्वास बढाउने, स्वस्थ बालबालिका हुर्काउने वातावरण तयार पार्ने र स्तनपानप्रतिको गलत धारणा तोड्न मद्दत गर्ने विश्वास लिएको छ।

स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूले भविष्यमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया