ताजा समाचार

डाेल्पाकाे भदौ पूर्णिमा मेला सामाजिक एकता र धार्मिक सहिष्णुताको अनुपम प्रतीक

विष्णुप्रसाद देवकोटा 

डोल्पा, भदौ २२ गते ।कर्णालीका हिमाली जिल्लामा भदौ पूर्णिमा केवल एउटा चाड मात्र होइन, सामाजिक एकता, धार्मिक सहिष्णुता र मानवीय सद्भावको अनुपम प्रतीकका रूपमा चिनिन्छ। यो पर्वले यहाँका मानिसलाई धर्म, संस्कार र परम्परामा जोड्ने अद्वितीय धागो बनेको छ।

कर्णालीकाे  डोल्पामा पर्ने विभिन्न धार्मिक मठमन्दिरमा  आजकाे दिन विशेष पूजा आराधना गरिन्छ र मेलाको रौनक छाउँछ। पुरानो विश्वासअनुसार धामीझाँक्रीमा देवता अवतरण गरी काप्ने, नाच्ने र भविष्यवाणी गर्ने प्रचलन अझै पनि उत्तिकै सजीव छ, जसले भूत, वर्तमान र भविष्यको जीवनदर्शनलाई प्रतीकात्मक रूपले झल्काउँछ।

विशेष गरी डोल्पाका जगदुल्ला, मुड्केचुला, त्रिपुरासुन्दरीको छलमष्टा भवानी, गल्लीमष्टा, ठुलीभेरी नगरको जुफाल र तिप्लालोचा लगायतका दर्जनौं मठमन्दिरमा भदौ पूर्णिमाको मेला लाग्छ। यी मठमन्दिरसँग सम्बन्धित देवताका आफ्नै ऐतिहासिक किवंदन्ती र परम्परा रहेका छन्, जसलाई श्रद्धालुहरूले अटुट आस्थाका साथ पूजाआजा गर्छन्।

जगदुल्ला गाउँपालिका–३ थापा गाउँस्थित महादेव देवतालाई एकादशीको दिन हुरिकोटस्थित त्रिवेणीधाममा लगेर धामी–झाँक्रीसहित भक्तजनहरूले गंगास्नान गरी पुनः मन्दिरमा ल्याउने र त्यसपछि चतुर्दशी तथा पूर्णिमाको दिन विशेष पूजाआजासहित भव्य मेला लाग्ने परम्परा रहिआएको छ। यसबारेमा स्थानीय गगन लामाले “यो परम्पराले देवताको महिमा मात्र होइन, सामूहिक श्रद्धा र धार्मिक सहअस्तित्वलाई प्रष्ट पार्ने बताए।

यसैगरी ठुलिभेरी नगरपालिका–७/८ मा पर्ने विडी थान मन्दिरमा चतुर्दशीका दिन रातभर जाग्राम बसेर नाचगान गर्ने, र त्यसपछि भाेलिपल्ट अर्थात  पूर्णिमाकाे दिन  ‘मण्डव’ नामक मन्दिरमा विशेष मेला लाग्ने चलन परापूर्वकालदेखि चल्दै आएको छ। वडानम्बर ८ का अध्यक्ष मनराम ठकुल्लाले  पहिले देखि चलि आएकाे यो परम्पराले हाम्रो सांस्कृतिक सम्पदा पुस्तौंदेखिकाे मानवीय एकता र आस्था जोगाई राखेकाे बताए ।

भदौ पूर्णिमाको यो महोत्सव केवल धार्मिक अनुष्ठान मात्र नभई धर्म, मानवीय सद्गुण र परम्परागत सम्बन्धको ऐतिहासिकता बोकेको महत्त्वपूर्ण सांस्कृतिक धरोहरका रूपमा हेरिन्छ। यसले कर्णालीकाे हिमाली समाजलाई आस्था, विश्वास र सामाजिक सद्भावको अमूल्य धरोहरमा बाँध्ने काम गरेको छ।

तपाईको प्रतिक्रिया