दुनै – ठुलीभेरी नगरपालिकाले खानेपानी सम्बन्धी समस्या समाधान गर्न ग्रामिण मर्मत सम्भार कार्यकर्ता निर्माण गर्ने उद्देश्यले नगरभरीका विभिन्न वडाबाट सहभागीहरुलाई चारदिने तालिम सम्पन्न गरेको छ। सवैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता परियोजना (SUSWA) अन्तर्गत आयोजित तालिममा नगरपालिकाका ११ वटै वडाबाट एक-एक जना तथा भूगोलको आधारमा थप ५ जनासहित जम्मा १६ जनाले सहभागिता जनाएका थिए।
ठुलीभेरी नगरपालिका–१ को खाल्दारामा आयोजित तालिममा सहभागीहरुलाई खानेपानी मर्मत, सम्भार तथा समस्या समाधान सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। परियोजनाका प्राविधिक सहजकर्ता तिलक आरसीका अनुसार तालिम नगरभरी सञ्चालित खानेपानी आयोजनामा देखिने सामान्य समस्या समुदायस्तरमै समाधान गर्न सहयोगी हुने विश्वास गरिएको छ।
प्रशिक्षक बुद्रि पल्लब जोशीले तालिम उत्साहजनक रुपमा सम्पन्न भएको भन्दै सहभागीहरु ग्रामिण क्षेत्रमा देखिने खानेपानीका समस्या पहिचान गरी समाधान गर्न सक्षम हुने विश्वास व्यक्त गरे। तालिममा आवश्यक उपकरण तथा सामग्री पनि हस्तान्तरण गरिएको थियो।
तालिम समापन कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष तेजेन्द्र बहादुर रोकायाले तालिमलाई व्यवहारमा उतार्न आग्रह गर्दै यसलाई फलदायी अवसरका रूपमा लिनु पर्ने बताए। नगरप्रमुख श्ववर्ण कुमार बुढाले सहभागीहरुलाई “खानेपानी समस्याका पहिलो समाधानकर्ता तपाईंहरु नै हो” भन्दै जिम्मेवारीप्रति गम्भीर बन्न सुझाव दिए।
नगरप्रमुख बुढाका अनुसार वडा नम्बर १, २, ६ को दुरगाउँ, वडा १०, ११ र अन्य केही बस्तिहरूमा खानेपानीको गम्भीर समस्या रहेकोले ती क्षेत्रलाई प्राथमिकतामा राखी काम भइरहेको छ। उनले समस्याको पहिचान र समाधानका लागि नगरपालिका सधैं तत्पर रहेको पनि जनाए।
सवैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता परियोजनाले युरोपियन युनियन, फिन्ल्यान्ड सरकार, नेपाल सरकार तथा स्थानीय सरकारको सहकार्यमा विगत तीन वर्षदेखि ठुलीभेरी नगरपालिकामा खानेपानी तथा सरसफाईसम्बन्धी परियोजना सञ्चालन गर्दै आएको छ।

डोल्पा न्यूज । २९ बैशाख २०८२, सोमबार २०:४७