विष्णुप्रसाद देवकोटा
डोल्पा, जेष्ठ १८ — विश्ववन्यजन्तु कोष नेपालको सहयोग तथा शे-फोक्सुण्डो पर्यटन समन्वय समिति डोल्पाको आयोजनामा “सिसाजन्य तथा अन्य फोहोर न्यूनीकरण” विषयमा जिल्लास्तरीय सरोकारवाला परामर्श बैठक सम्पन्न भएको छ। कार्यक्रम डोल्पाको प्रमुख व्यापारिक केन्द्र दुनैस्थित ब्लुसिप इन होटलमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाले फोहोरमैला व्यवस्थापनमा स्थानीय सरकार बेखबर रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे। “विगतको नियति अहिले पनि दोहोरिएको छ,” उनले भने, “राजश्व उठाउने निकायले जनस्वास्थ्य र वातावरण संरक्षणमा ध्यान दिनु आवश्यक छ। स्थानीय सरकार जनचेतनाको अभावमा फोहोर व्यवस्थापनप्रति उत्तरदायी हुन सकेको छैन।” साथै, रोकायाले शे-फोक्सुण्डो निकुञ्जको संरक्षणमा नेपाली सेना गम्भीर नभएको र उनीहरूको ध्यान अनावश्यक सवारी जाँचमा केन्द्रित भएकोप्रति असन्तुष्टि जनाए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रोमबहादुर महतले डोल्पाको बहुमूल्य यार्सागुम्बा सङ्कलनको समयमा वन कार्यालय तथा सामुदायिक वन प्रयोगकर्ताले सरकारको निर्णय नमानिएको उल्लेख गर्दै कार्यान्वयनको कमजोरीतर्फ संकेत गरे। “वन कार्यालय निर्णय कार्यान्वयन गराउन पूर्णतः असफल देखिएको छ,” उनले बताए। साथै, जिल्लाको बहुपक्षीय विकास योजनाबारे आयोजित महत्वपूर्ण बैठकहरूमा स्थानीय जनप्रतिनिधिको उपेक्षा पनि उनले गुनासोस्वरूप प्रस्तुत गरे।
उद्योग वाणिज्य संघ डोल्पाका अध्यक्ष लालिमान बुढा, होटल व्यवसायी अर्जुन हिराचन, नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढा, सञ्चारकर्मी लेख बुढा र टेकबहादुर शाहीले आ-आफ्ना धारणा राख्दै, वातावरण संरक्षण, पर्यटन प्रवर्द्धन र फोहोरमैला व्यवस्थापनमा ऐन तथा कार्यविधि त भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउँदै सरोकारवाला निकायको उदासीनताप्रति असन्तुष्टि जनाए।
शे फोक्सुण्डो पर्यटन समन्वय समितिका कार्यवाहक अध्यक्ष चाँद हमालले फोहोर व्यवस्थापनसम्बन्धी प्रस्तुतिकरण गर्दै डोल्पाको विशिष्टता, फोहोरको प्रकार, हालको अभ्यास, तिनका प्रभाव, शिसाजन्य फोहोर न्यूनीकरणका सम्भावित उपाय, दीर्घकालीन रणनीति र सरोकारवालाको भूमिकाबारे विस्तृत सहजीकरण गरेका थिए। उनले स्रोतमै फोहोर न्यूनीकरण, पृथकीकरण र सिसाजन्य फोहोरको वैज्ञानिक व्यवस्थापनले जलस्रोत र वातावरणको संरक्षणमा दीर्घकालीन असर पार्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित पथप्रदर्शक, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।
बैठकले डोल्पामा बढ्दो प्लास्टिक र सिसाजन्य फोहोरको गम्भीर चुनौतीप्रति सचेत हुँदै, स्थानीय सन्दर्भअनुकूल समाधान, सबै निकायबीच सहकार्य र नीति कार्यान्वयनमा प्रतिबद्धता आवश्यक रहेको निष्कर्ष निकालेको छ।

डोल्पा न्यूज । १८ जेष्ठ २०८२, आईतवार १९:४६