ताजा समाचार

पूर्व प्रहरी अधिकृत अवधेश विष्ट अब “कुकर कफी” का बारिस्टा

विष्णुप्रसाद देवकोटा 

नेपाल प्रहरीका एसपी (SP) पदबाट सेवा निवृत्त भएका अवधेश विष्ट अहिले ललितपुरको जावलाखेलमा ‘कुकर कफी’ नामक कफी व्यवसाय सञ्चालन गरिरहेका छन्। उच्च पदबाट अवकाश लिएपछि कफी पसल सञ्चालन गर्नु उनका लागि असामान्य निर्णय थियो। सुरुका दिनमा धेरैले आश्चर्य प्रकट गर्दै प्रश्न गर्थे,“यति ठूलो पदमा रहेर अब कफी बेच्ने?” तर, विष्टले ती सबै जिज्ञासाको उत्तर आफ्नो लगनशीलता र कर्मठताबाट दिन थाले।

आज उनी त्यही पसलमा कफी बनाइरहेका हुन्छन् र पहिले आलोचना गर्नेहरू नै अहिले कफी बनाउने सीप सिक्न उनलाई आग्रह गर्छन्। विष्ट भन्छन्, “हाम्रो घर नजिकैको मोडमा बुबाले मन्दिर र चौतारी बनाउनुभएको थियो, जहाँ मानिसहरू बसेर संवाद गर्थे। म बुबाको त्यो सार्वजनिक स्थानलाई अझ आकर्षक र उपयोगी बनाउने सपना लिएर अघि बढेँ।”

आज त्यो सपना ‘कुकर कफी’ को रूपमा साकार भएको छ। यो स्थान अब केवल कफी पिउने ठाउँ मात्र होइन, सामाजिक भेटघाट र संवादको चौतारी बनेको छ। व्यवसायिक लाभसँगै उनले ७ जनालाई रोजगारी समेत दिन सकिरहेका छन्, जुन कुराले उनलाई अझ सन्तुष्टि दिएको छ।अवधेश विष्टको यो यात्राले देखाउँछ,पदले होइन, दृष्टिकोणले व्यक्तिको मूल्य निर्धारण हुन्छ।

तपाईको प्रतिक्रिया