ताजा समाचार

दुनै बजारमा जुवा खेल्दाखेल्दै पाँच जना पक्राउ, १ लाख ७८ हजारभन्दा बढी नगद बरामद

विष्णुप्रसाद देवकोटा 

डोल्पा, असार १७ । डोल्पा जिल्ला सदरमुकाम दुनै बजारस्थित बी एण्ड बी होटलको तेस्रो तलामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको टोलीले मंगलबार राति ९:४५ बजे गोप्य सूचनाको आधारमा छापा मार्दै जुवाडेहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनास्थलबाट नगद रु १ लाख ७८ हजार २ सय ७५ रुपैयाँ, दुई गड्डी नखोलिएको तथा चार–पाँच गड्डी खुल्ला तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डिएसपी रुकबहादुर खड्काले दिएका जानकारी दिए ।

डिएसपी खड्काका अनुसार पक्राउ परेकाहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ बमोजिम जुवा तथा सट्टाबाजीसम्बन्धी कसुर अन्तर्गत म्याद थपका लागि प्रक्रिया अगाडि बढाइएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूले नगद रकम मात्र नभई बैंकमार्फत कारोबार समेत गरेको प्रमाण फेला परेको बताइएको छ।

स्रोतका अनुसार घटनास्थलमा सशस्त्र प्रहरीको सहयोगमा छापा मारिएको थियो। पक्राउ पर्नेहरुमा रुकुम पुर्व पुथाउत्तरगंगा गा.पा. ८ बस्ने वर्ष ३३ को अञ्चल मल्ल,डोल्पा त्रिपुरासुन्दरी न.पा. ११ बस्ने वर्ष २० को नरकर्ण पुन,काईके गा.पा. ३ बस्नेवर्ष ३३ को राजु बुढा,ठुलिभेरी न.पा. ३ बस्ने वर्ष ३६ को सट कुमार बोहोरा र जुम्ला पातारासी गा.पा. ४ बस्ने वर्ष ३२ को प्रदिप बोहोरा रहेका छन्।”

स्थानीयहरूका अनुसार दुनै बजारमा पछिल्लो समय जुवा तथा तास खेल्ने क्रियाकलाप बढ्दो अवस्थामा रहेको भन्दै सुरक्षा निकायले कडाइका साथ निगरानी र कारबाही गर्नुपर्ने माग गरिएको छ।

तपाईको प्रतिक्रिया