विष्णुप्रसाद देवकोटा
डोल्पा, बैशाख १ गते– डोल्पास्थित श्रीबाला त्रिपुरासुन्दरी योगमाया भगवती मन्दिरको प्रवेशद्वार त्रिपुराकोट खाैलामा रहेको ऐतिहासिक गादी (पाटीपौवा) पुनर्निर्माणको शिलान्यास गरिएको छ।
पुरातत्व विभागको आठ लाख दुई हजार रुपैयाँको आर्थिक सहयोगमा उपभोक्ता समितिमार्फत उक्त गादीको पुनर्निर्माण थालिएको हो।
शिलान्यास समारोहमा त्रिपुरासुन्दरी मन्दिर अक्ष्यकोष समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्याय, सचिव विष्णुप्रसाद न्यौपाने, पुजारी यज्ञप्रसाद उपाध्याय, नायक पुजारी टंकप्रसाद उपाध्याय लगायत मन्दिरका पीठाधीशहरूको उपस्थिति रहेको थियो।
पुरातात्त्विक महत्त्व बोकेको उक्त गादीमा ई.सं. १११४ सालतिर विक्रम शाही महाराज पूजा अवलोकन गर्न बस्ने गरेको जनविश्वास रहेको छ।
मुकुटेश्वर दरबारतर्फ नजर डुलाउने र चैत दशमी तथा विजया दशमीको अवसरमा पूजा हेर्ने स्थलका रूपमा प्रयोग हुने गरेको किवदन्ती छ। साथै, कोटखाैलाला क्षेत्र जनताबीचको छलफल, मुद्दा मामिला र गाउँभेलाका लागि समेत प्रयोग हुने ऐतिहासिक पाटीपौवा हो।
गादी पुनर्निर्माणका लागि मष्टा देवता र त्रिपुराकोट सार्किटोलस्थित बाबिरो देवताले सोमबारको दिन पूजा गरेर शिलान्यास गर्न निर्देशन दिएको पुजारी टिकादत्त न्याैपानेले बताउनु भयाे ।
८.४६६ केजी चाँदी प्रयोग गरी मन्दिरमा नयाँ ढोका स्थापना
यसैबीच, मन्दिरको मूल गाथमा आठ केजी चार सय छैसठ्ठी ग्राम (८.४६६ केजी) चाँदी प्रयोग गरी नयाँ ढोका निर्माण गरी प्रतिस्थापन गरिएको छ।
भक्तजन, पुजारी तथा चन्दादाताहरूको सहयोगमा झण्डै १८ लाख रुपैयाँको लागतमा काठमाडौँका कालीगढमार्फत ढोका निर्माण गरिएको हो।
चैत दशमीको अवसर पारेर मन्दिरमा विशेष पूजासहित ढोका प्रतिस्थापन गरिएको अक्ष्यकोष समितिका सचिव विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो।
साथै, मन्दिरका टुटेका पूजाका सामग्रीहरू (आसागुर्जा) को पनि मर्मत सुरु गरिएको छ।
स्थानीयबासी तथा समितिका सदस्यहरूका अनुसार गादीसहितका संरचनाले धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास गरिएको छ।