ताजा समाचार

आठबिसकोटको काथिना भण्डारी गाउमा पुग्यो एकघर, एकधारा 

पुर्ण सार्की/सुर्खेत: रुकुम पश्चिमको आठविसकोट नगरपालीकाको एक घर एक धारा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। नगरपालिकाले विभिन्न निकाय सग सहकार्य गरि पालिका भरीनै स्वच्छ खानेपानी पुर्याउने लक्ष्य अनुसार काम तीव्र रूपमा अगाडि बढाइरहेको नगरपालिकाले बताएको छ।

बिहीबार आठविसकोट नगरपालिका ०५ काथीना भण्डारी गाउमा १७३ घरधुरीलाई खानेपानीको धारा हस्तान्तरण गरिएको छ।

कर्णाली प्रदेश सरकारका पूर्व मुख्य मन्त्री राजकुमार शर्माको प्रमुख आतिथ्यता तथा पुर्व मन्त्री वीरबहादुर शाहीको आतिथ्यतामा विभिन्न निकाय संगको सहकार्यमा निर्माण गरिएका एक सय ७३ धाराको उद्दघाटन सगै हस्तान्तरण गरिएको छ।

हेल्भेटास नेपालको ५१.५८ पर्सेन्ट आर्थिक सहयोग, पहाडी क्षेत्र विकास अभियान कार्यक्रमको सामजिक र प्राविधिक सहयोग सगै स्थानीय पालिकाको २४.२२ पर्सेन्ट आर्थिक सहकार्य र २४.२ पर्सेन्ट स्थानीय जन श्रमदान गरी काथीना भण्डारी गाउँ खानेपानी उपभोक्ता समिति मार्फत कुल १ करोड १५ लाख ३३ हजार ३ सय ६५ रुपैयामा धारा निर्माण कार्य सम्पन्न भएको नगरपालिकाकि उप प्रमुख धनकुमारी शाहीले जानकारी दिईन्। उप प्रमुख शाहीले भनिन् ” आठविसकोट ०५ काथीना भण्डारी गाउँका १७३ घरधुरीमा खानेपानीको सुविधा पुर्याएका छौं। एक घर एक धारा निर्माण गर्न पालिकाको अभियान जारी छ। अब बाँकी खानेपानी नपुगेका ठाउँमा पनि चाँडै खानेपानी पुर्याउने छौं”।

नगरपालिकाले पालिका भित्रका सबै घर घरमा सफा पिउने पानी पुर्याउने लक्ष्यका साथ काम तीव्र बनाइरहेको बताइन्।

घरमा पानी खानेपानीको धारा पुगेपछि स्थानीय सरोज चनेलले भने “खानेपानीको अभाव हुँदा यहाँका महिलाहरु लडोकोमा गाग्री राखेर मूल वा खोला खोज्दै हिड्नु पर्थ्यो। अहिले आँगनमै धारा पुगेका देख्दा आफू लगायत सिंगो गाउँबासी नै खुसी भएका छौं “।

बच्चाबच्चिहरुलाई टाढा टाढा पानी ल्याउन जाँदा लड्ने समस्या समेत रहेको थियो। अहिले घर आँगनमै पानी पुगेपछि गाग्री बोकेर टाढा टाढा जानु पर्ने बाध्यता हटेको छ।

खानेपानीको धारा उद्दघाटन गर्न पुगेका कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री शर्माले खानेपानी धारा संरक्षणमा सबै स्थानीयले ध्यान दिनु पर्ने बताए । उनले भने ” हामीले जसरी घरको संरक्षण गर्छौ त्यसरीनै खानेपानीको मुहान र धाराको पनि संरक्षण गर्नु पर्छ। म मेरो क्षेत्रको विकास र समृद्धिको लागि सधैं लगिपरिरहेको छु । आगामी दिनमा स्थानीय सरकारको समन्वयमा आठविसकोटमा थप कायापलट हुने छ”।

यस गाउँका खानेपानी पुगेपछि स्थानीयबासीहरु खुसी मात्र भएका छैनन्, सफा, शुद्ध खानेपानी समेत पाएका छन् ।

गाउँको नजिकै पानीका मुहानहरु भएपनि स्थानीयवासीहरुले आर्थिक अभावका कारण पानि घर घरमा धारा मार्फत ल्याउन सकेका थिएनन्। नगरपालिका द्वारा विभिन्न निकाय सगको समन्वय र एक घर एक धाराको लक्ष्य गरेपछि गाउँमा सजिलै खानेपानी आएको वडा अध्यक्ष घनश्याम भण्डारीले बताए।

अधिकांश दलित समुदाय रहेको यस ठाउँमा राप्ती राजमार्गले समेत छोएको छ। नगरपालिकाले अन्य वडाहरुमा समेत खानेपानी पुर्याउने लक्ष्य सहित काम गराइरहेको उपप्रमुख शाहीले जानकारी दिइन ।

खानेपानी धारा हस्तान्तरण तथा उद्घाटन समारोहमा आठविसकोट पुगेका पूर्व मुख्यमन्त्री शर्मा , पूर्व मन्त्री शाही, नगर उपप्रमुख शाही, हेल्भेटास नेपालका प्रतिनिधि, पहाडी क्षेत्र विकास अभियान कार्यक्रमका प्रतिनिधि, सम्बन्धित वडाका जनप्रतिनिधी लगायत व्यक्तित्वलाई स्थानीयबासीले फूलमाला सहित भव्य स्वागत गरेका थिए।

तपाइको प्रतिक्रिया

error: Content is protected !!