ताजा समाचार

योजनाहरूको अनुगमनगर्न डाेल्पा पुगिन् राज्यमन्त्री विक,

डोल्पा, वैशाख ३ गते — कर्णाली प्रदेशको ‘लाइफलाइन’ मानिएको भेरी करिडोर तथा अन्य सहायक सडकहरूको स्थलगत अनुगमनका लागि प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्री गमता विक डोल्पा पुगेकी छिन्।

सभामुख नन्दा गुरुङसहितको अध्ययन तथा अवलोकन टोलीसँग डोल्पा पुगेकी राज्यमन्त्री विकले आफूले सोचेजस्तो नभई फरक र वास्तविक अवस्थाको अनुभव भएको बताइन्। उनले राम्रा कामहरूको सराहना गर्दै ढिलो भइरहेको योजनाहरूको अवस्थाबारे बुझ्न अनुगमन गरिएको बताइन्।

राज्यमन्त्री विकका अनुसार कतिपय आयोजना निर्माण व्यवसायीको लापरवाही र कतिपयमा समयमा भुक्तानी नपाएको कारण ढिलाइ भएको छ। यस्ता समस्या समाधानका लागि मन्त्रालयमै व्यवसायीलाई बोलाएर छलफल गरिने बताइन्।

“स्रोत साधनलाई ध्यानमा राखी योजना छनौट तथा बजेट विनियोजनमा मापदण्ड बनाइनेछ, अति आवश्यक योजनालाई प्राथमिकता दिइनेछ,” उनले भनिन्।

डोल्पाको त्रिवेणीमा निर्माणाधीन पुलले समेत गति लिन नसकेको उल्लेख गर्दै उनले निर्माण व्यवसायीलाई तत्काल मन्त्रालयमा बोलाएर जिम्मेवार बनाइने जनाइन्।

यसैबीच, सदरमुकाम दुनै हुँदै मोरीम जोड्ने सडक निर्माण कार्य नेपाली सेनालाई जिम्मा दिने प्रक्रिया अन्तिम चरणमा रहेको र त्यसपछि सो सडकले गति लिने विश्वास व्यक्त गरिन्।

टोलीले त्रिपुरासुन्दरी नगरपालिका–१ मा अवस्थित धार्मिक तथा पर्यटकीय महत्वको श्रीवालात्रिपुरासुन्दरी भगवती मन्दिरमा समेत पुगी दर्शन गरेको छ। टोलीमा वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकाल भण्डारी, उपप्रमुख निलकण्ठ खनाल, प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटालगायतको सहभागिता थियो।

तपाइको प्रतिक्रिया

error: Content is protected !!