नेपाल पत्रकार महासंघ हुम्ला शाखाको कार्यालयमा ताला बन्दी गरिएको छ । आफ्ना सदस्यहरुको नामावली छुटाएको भन्दै प्रेश चौतारी नेपालको हुम्ला शाखाले ताला लगाएको हाे ।
भदाै २९ गते शनिबार बेलुका नेपाल पत्रकार महासंघ केन्द्रले सार्वजनिक गरेका सदस्यता बिबरणमा प्रेस चौतारी नेपालको हुम्ला शाखाका सदस्यहरुको नाम हटाएको भन्दै भदौ ३१ गते महासंघको कार्यालयमा ताला लगाइएकाे हाे ।
प्रेस चाैतारीका चार जना सदस्यको नाम छुटेको भन्दै महासंघ हुम्ला शाखाको कार्यालयमा ताला लगाउने कार्य भएको प्रेश चौतारी नेपाल हुम्लाका सचिव दाने बोहराले बताए ।
उनले पत्रकार महासंघ हुम्ला शाखाले एक जनाको नविकरण र तीन जनाको नयाँ सदस्य प्रदानका लागि सिफारिस गरेकोमा ती चारै जनाको सार्वजनिक भएको नामावलीमा छुटाएको भन्दै कार्यालयमा ताला लगाउने कार्य भएको जानकारी दिए ।
नाम छुटेका चार जना सदस्यहरुमा नृपराज हमाल नविकरण गर्ने र नयाँ सदस्यताका लागि सिफारिस गरिएका सदस्यहरुमा लक्ष्या कामी, धनबहादुर भण्डारी, सुन्दर रावत र ऐटन रावल रहेका छन् ।
यस अघि महासंघ हुम्लाबाट ३२ जना पुराना सदस्यहरुको नाम नविकरणका लागि सिफारिस गरेको थियो भने ११ जनाको नाम नयाँ सदस्यहरुका लागि सिफारि गरेको थियो । हाल महासंघ केन्द्रले हुम्ला शाखाका लागि ४१ जनाको नाम सार्वजनिक गरेको छ । तर पुराना कृयाशिल पत्रकारहरूलाई हटाएर नयाँ सदस्य थपेकाे छ ।