ताजा समाचार

डाेल्पामा झोलुङ्गे पुलबाट हाम फालेर आत्महत्या गर्न खोज्ने युवककाे सकुशल उद्धार

विष्णुप्रसाद देवकोटा

डोल्पा, त्रिपुरासुन्दरी – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट बगर बजारस्थित भेरी नदीमाथिको झोलुङ्गे पुलबाट हाम फालेर आत्महत्या गर्न खोजेका एक युवकलाई नेपाल प्रहरीले स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको छ।

घटना सोमबार साँझ करिब ५ बजे तिर भएको हो। त्रिपुरासुन्दरी नगरपालिका–४, रंगका ३२ वर्षीय धनप्रसाद बुढा झोलुङ्गे पुलमा झुण्डिएर नदीमा हामफाल्न तयारी अवस्थामा रहेको देखेपछि स्थानीयले तत्काल त्रिपुराकोट प्रहरी चौकीलाई खबर गरेका थिए।

प्राप्त सूचनाका आधारमा प्रहरी नायब निरीक्षक (प्रनानि) यमबहादुर बस्नेतको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीयको सहकार्यमा समयमै हस्तक्षेप गर्दै युवकलाई सकुशल उद्धार गर्न सफल भएको चौकीले जनाएको छ।

हालसम्म बुढाले आत्महत्या प्रयासको कारण खुलाएका छैनन्। मानसिक तनाव वा अन्य व्यक्तिगत कारण हुनसक्ने अनुमान गरिएको छ, यद्यपि घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरी स्रोतको भनाइ छ।

प्रहरीले यस्ता संवेदनशील परिस्थितिमा स्थानीयको सतर्कता र सहयोगलाई महत्वपूर्ण भन्दै आभार प्रकट गरेको छ। साथै, मानसिक स्वास्थ्यसम्बन्धी सचेतना र सहायताका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।

तपाईको प्रतिक्रिया