विष्णुप्रसाद देवकोटा,
डोल्पा।जिल्ला अस्पताल डोल्पामा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत छात्रवृत्ति करार सेवामा आएका बिशेषज्ञ चिकित्सक MDGP डा. विदुर तिवारीलाई एक भव्य कार्यक्रमका बीच औपचारिक स्वागत गरिएको छ।
स्वास्थ्य सेवा कार्यालय डोल्पाको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानीय निकाय, राजनीतिक दल, नागरिक समाज र सरोकारवाला निकायको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममार्फत डा. तिवारीलाई स्वागत गर्दै जिल्लामा दीर्घकालीन बिशेषज्ञ सेवा स्थापनाको अपेक्षा व्यक्त गरिएको छ।
नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले स्वागत मन्तव्य दिंदै, “डोल्पामा सरुवा भएर आउने तर अनुभव लिएर तत्कालै सरुवा हुने प्रवृत्ति अन्त्य हुनुपर्छ,” भन्दै डा. तिवारीलाई दीर्घकालीन सेवा दिने सोच बनाउन आग्रह गरे।
प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले अस्पतालले प्रदान गर्ने सेवा जनउत्तरदायी र प्रभावकारी हुनुपर्नेमा जोड दिँदै, “नागरिकले प्रत्यक्ष बिशेषज्ञ सेवा अनुभूति गर्ने गरी सेवा प्रवाह गरिनुपर्छ,” भने।
जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायाले डा. तिवारीलाई डोल्पा ल्याउनका लागि गरिएको निरन्तर प्रयास सफल भएको बताए। उनले सबै स्थानीय तहसँग समन्वय गरी गाउँ–गाउँमा बिशेषज्ञ सेवा पुर्याउने कार्यमा पनि डा. तिवारीको भूमिका रहने विश्वास व्यक्त गरे।
अस्पताल व्यवस्थापन समिति अध्यक्ष कमलबहादुर शाहीले अस्पतालको भौतिक तथा व्यवस्थापकीय पक्षमा सुधार हुँदै गएकाले अब सेवा गुणस्तरमा समेत सुधार आउने विश्वास व्यक्त गर्दै, “बाहिरी राजनीतिक हस्तक्षेप अस्पतालमा हुनु हुँदैन,” भन्ने स्पष्ट धारणा राखे।
स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख डा. सिजन रावलले बिशेषज्ञ डाक्टरको आगमनसँगै सल्यक्रिया सेवा लगायतका बृहत स्वास्थ्य सेवा विस्तार हुने बताए। उनले डोल्पामा बिशेषज्ञ डाक्टर पठाउन सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद दिँदै सेवा सञ्चालनमा सहकार्यको अपेक्षा राखे।
नवपदस्थ डा. विदुर तिवारीले आफू डोल्पामा सेवा गर्न पाएकोमा गर्व महसुस भएको बताउँदै, “यहाँको सहयोग र साथले सेवा प्रभावकारी रुपमा संचालन गर्न सकिने छ,” भन्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेकपा (एस) डोल्पाका अध्यक्ष छक्कबहादुर धराला, नेकपा (माओवादी केन्द्र) डोल्पाका नेता ओमेन्द्र केसी, नेकपा (एमाले) का नेता पूर्णबहादुर डाँगी र पूर्व संविधानसभा सदस्य तथा कांग्रेस नेतृ दूधकुमारी हमालले समेत स्वागत मन्तव्यसहित डा. तिवारीको सफल कार्यकालको शुभकामना व्यक्त गरे।

डोल्पा न्यूज । १९ असार २०८२, बिहीबार २०:१८