ताजा समाचार

पेशागत महासंघ डोल्पाद्वारा मजदुरलाई सुरक्षा सामग्री र फलफूल वितरण

डोल्पा, जेठ ७ – पेशागत महासंघ नेपाल डोल्पाले आफ्नो ३१औं स्थापना दिवसको अवसरमा सदरमुकाम दुनैमा कार्यरत मजदुरहरूप्रति सम्मान प्रकट गर्दै सुरक्षासम्बन्धी सामग्री तथा फलफूल वितरण गरेको छ।

मंगलबार सम्पन्न कार्यक्रममा विभिन्न स्थानमा शारीरिक श्रममा संलग्न मजदुरहरूलाई कार्यस्थलमा आवश्यक पन्जा, मास्क लगायतका सामग्री तथा पोषणयुक्त फलफूल प्रदान गरिएको महासंघका अध्यक्ष राजन कुमार डाँगीले जानकारी दिए।

नेकपा (एकीकृत समाजवादी) निकट पेशागत महासंघको केन्द्रीय सर्कुलर तथा निर्देशनअनुसार आयोजित उक्त कार्यक्रममा डोल्पाका स्थानीय नेताहरू तथा पार्टी कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

“जुनसुकै क्षेत्रमा कार्यरत भए पनि सबै श्रमिक पेशाकर्मी हुन्। त्यसैले एकले अर्कालाई सम्मान गर्दै दुःखसुखमा साथ दिनु नै मानवताको मूल मूल्य हो,” अध्यक्ष डाँगीले कार्यक्रममा सम्बोधन गर्दै उल्लेख गरे।

सामग्री वितरणपछि मजदुरहरूले आत्मीयता र कृतज्ञताका साथ धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रममा देखिएको सहभागिता र सौहार्दपूर्ण वातावरणले स्थापना दिवसलाई अझ अर्थपूर्ण बनाएको सहभागिहरूले प्रतिक्रिया दिएका छन्।

तपाईको प्रतिक्रिया