ताजा समाचार

रातारात रुमखोलामा भीषण बाढी: करोडौंको क्षति, ग्याविन जाली र ट्र्याक्टर बगायो

विष्णुप्रसाद देवकोटा

त्रिपुरासुन्दरी-२, नादा (डोल्पा) — बुधबार राति अविरल वर्षापछि आएको भीषण बाढीले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ स्थित नादा क्षेत्रको रुमखोलामा ठूलो क्षति पुर्‍याएको छ।

स्थानीय विकास पूर्वाधार सुर्खेतमार्फत निर्माणाधीन के.एन.पी. कन्स्ट्रक्सन (त्रिपुरासुन्दरी–७) द्वारा राखिएको झन्डै ३०० घनमिटर ग्याविन जालीमा क्षति पुगेको छ भने, प्रयोग नभएका १x२ साइजका करिब ८० थान ग्याविन जाली बाढीले बगाएको वडा अध्यक्ष टंक बहादुर थापा (विकास) ले जानकारी दिए।

बाढीले सुकलाल गुरुङको लु ४ त ८३७४ नम्बरको ट्र्याक्टर पनि बगाएर करिब ३०० मिटर तल ठुलीभेरी नदीको किनारामा पुर्‍याएको छ।

यस्तै, बाढीका कारण नादा क्षेत्रका करिब २६ घरधुरीको खेतबारीमा लगाइएको बाली सखाप भएको छ। स्थानीय मदन थापाको कागती, ओखर, टिमुर र अंगुर बगैंचामा समेत ठूलो क्षति पुगेको छ।

वडा अध्यक्ष थापा र प्रहरी टोलीले घटनास्थलको स्थलगत अनुगमन गरिसकेका छन् भने क्षतिको विस्तृत विवरण संकलनको प्रक्रिया जारी रहेको जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया