ताजा समाचार

डोल्पाको श्रीमहिला हातेमालो सहकारीको चौथो साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन

विष्णुप्रसाद देवकोटा

डाेल्पा,भदौ १६ गते ।ठूलीभेरी नगरपालिका–६ दुरागाउँमा रहेको महिला हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा विभिन्न ७ वटा महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ।

सम्पन्न सभाले विनियम २०७८ अनुसार नयाँ ११ सदस्यीय सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरेको छ। नयाँ समितिको अध्यक्षमा मनकुमारी रोकाया, सचिवमा पूर्वदेवी सार्की, उपाध्यक्षमा नक्कली रोकाया, कोषाध्यक्षमा मुग कार्की लगायतको नेतृत्व चयन भएको हो।

विक्रम सम्वत २०७७ सालमा स्थापना भएको सहकारीले हालसम्म करिब २ लाख ५० हजार रुपैयाँ बचत संकलन गरी १३ हजार रुपैयाँ ऋण परिचालन गरेको छ। आफ्नै भवनबाट सञ्चालन भइरहेको सहकारीले बचत–ऋण सेवासँगै सहकारी शिक्षा, सामुदायिक गतिविधि, व्यवसायिक सिप, साना व्यवसाय प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणमा निरन्तर काम गरिरहेको छ।

सल्लाहकार रणबहादुर कार्कीले दिएकाे जानकारी  अनुसार सहकारीले सदस्यलाई नियमित बचत गर्न अभ्यस्त बनाउने, सस्तो व्याजदरमा ऋण प्रवाह गर्ने, सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्ने लगायत आगामी दिनमा सस्तो सहकारी पसल र आयआर्जनका थप गतिविधि विस्तार गर्ने योजना अगाडि सारेको छ।

चौथो साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन र आन्तरिक लेखापरीक्षण समितिको प्रतिवेदन अनुमोदन गर्दै विविध निर्णय पारित गरेको छ।

तपाईको प्रतिक्रिया