ताजा समाचार

ठुलीभेरीनगर प्रमुख बुढालाई तीन दलको संयुक्त ध्यानाकर्षण: जनउत्तरदायित्व र सुशासनको माग

विष्णुप्रसाद देवकोटा

ठुलीभेरी, जुफाल — ठुलीभेरी नगरपालिकामा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले संयुक्त रुपमा नगरप्रमुख श्ववर्ण कुमार बुढालाई चारपृष्ठ लामो ध्यानाकर्षण पत्र बुझाएका छन्।

बुधवार नगरप्रमुख बुढालाई बुझाइएको पत्रमा २०७९ सालको निर्वाचनपछिको तीन वर्षे कार्यकालमा नगरप्रमुखको नेतृत्वमा भएका कामको प्रगति, जवाफदेहिता र सार्वजनिक सुनुवाइको माग गरिएको छ। दलहरूले स्थानीय सरकारलाई संघीय प्रणालीको प्रभावकारी उपयोग, विकास कार्यको तीव्रता, न्यायिक समितिको सक्रियता, आन्तरिक राजस्वमा कडाइ र फजुल खर्च कटौतीका लागि पनि सुझाव दिएका छन्।

ध्यानाकर्षण पत्रमा न्यायसम्बन्धी कार्य प्रभावकारी नभएको, साना समस्यासमेत प्रहरी र प्रशासनसम्म पुग्ने अवस्था रहँदा स्थानीय तह कमजोर देखिएको उल्लेख छ। त्यस्तै, शिक्षा व्यवस्थापन, शान्ति सुरक्षा, स्थानीय सेवा सञ्चालनजस्ता जिम्मेवारीप्रति नगरपालिका गम्भीर हुनुपर्नेमा जोड दिइएको छ।

तीन दलका नेताहरू— नेकपा (एमाले) का सचिव गोपाल बहादुर शाही, नेकपा (माओवादी केन्द्र) का बिरमल कुमार भण्डारी र नेकपा (एकीकृत समाजवादी) का धर्मालाल बुढाले संयुक्त हस्ताक्षर गरेका थिए।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै नगरप्रमुख बुढाले दलहरूले उठाएका मुद्दाहरू जनपक्षीय रहेको बताए। उनले स्थानीय सरकार गम्भीर भएर काम गरिरहेको र गलत काम सच्याउने प्रतिबद्धता जनाउँदै जनताको चासोअनुसार उत्तर दिने आश्वासन दिए।

दलहरूले आगामी दिनहरूमा पनि निरन्तर खबरदारी र सुझाव दिने जनाउँदै नागरिक हितको पक्षमा आफ्नो भूमिका निर्वाह गर्ने बताए।

तपाइको प्रतिक्रिया