विष्णुप्रसाद देवकोटा
डाेल्पा।बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले डोल्पाको समृद्धि र भविष्यको आधार ‘भेरी करिडोर’ भएको बताएका छन्। सदरमुकाम दुनैको भ्रमणमा रहेका सभामुख पाठकले स्थानीय सञ्चारकर्मीसँगको संवादमा डोल्पाली जनताको मुटुमा गहिरिएको करिडोर योजनाको स्तरउन्नतिमा तिव्रता दिनुपर्ने आवश्यकता औँल्याए।
भ्रमणका क्रममा आयोजित साक्षात्कार कार्यक्रममा बागमती प्रदेशसभाका विभिन्न सकारात्मक पहलहरूबारे भिडियामार्फत जानकारी दिइएको थियो। त्यस अवसरमा उनले डोल्पाको धार्मिक, प्राकृतिक र पर्यटन सम्भावनालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय तहमा ब्राण्डिङ गर्नुपर्नेमा जोड दिए। “श्रीवाला त्रिपुरासुन्दरी भगवती मन्दिरलगायतका सम्पदाले डोल्पालाई एक विशिष्ट धार्मिक गन्तव्य बनाउने सम्भावना छ,” उनले भने, “स्थानीय सरकार र सरोकारवालाको सहकार्यमा प्रचारप्रसार बढाउनु अत्यन्त जरुरी छ।”
सभामुख पाठकले डोल्पामा पाइने विशिष्ट जडिबुटी ‘यार्सागुम्बा’को संकलन शैलीलाई विश्व रेकर्डमा दर्ता गर्न सकिने सम्भावनाप्रति पनि चासो व्यक्त गरे। “विश्वमै अनुपम र अद्वितीय तरिकाले संकलन गरिने यार्साको शृंखला गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पुग्न सक्नेछ,” उनले उत्साहित स्वरमा भने।
कार्यक्रममा बागमती प्रदेशसभाका सचिव पूर्णबहादुर दर्जीले प्रदेशसभाको कामकारबाहीबारे जानकारी दिँदै अहिलेसम्म ८५ वटा महत्वपूर्ण विधेयक पारित भइसकेको जानकारी गराए। निजामती सेवा र प्रदेश प्रहरीसम्बन्धी कानुन बने पनि संघीय प्रहरी ऐन अझै निर्माण नभएकाले समायोजनमा समस्या भइरहेको उनले स्पष्ट पारे।
उनले सातै प्रदेशमा प्रहरी समायोजनका लागि संघीय ऐन अपरिहार्य भएको उल्लेख गर्दै प्रदेश प्रहरी कार्यालय स्थापनाको प्रक्रिया अघि बढाइएको जानकारी पनि दिए।
प्रमुख जिल्ला अधिकारी रोमहादुर महतको सञ्चालनमा सम्पन्न कार्यक्रममा सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैह्रसरकारी निकायका प्रमुख, जनप्रतिनिधि, नागरिक अगुवा तथा संचारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।सभामुख सहित सचिव पुर्ण बहादुर दर्जिस्वकीय सचिव उमेश थापा अधिकृत सुवर्ण जङ शाही सहित कम्प्युटर अपरेटर प्रमाेद अधिकारीकाे टाेलि डाेल्पा आएकाे हाे ।

डोल्पा न्यूज । ९ असार २०८२, सोमबार १७:४४