ताजा समाचार

डोल्पामा मानवअधिकार रक्षक सञ्जाल गठनका लागि जिल्ला स्तरीय सरोकारवालाहरुसंग छलफल!

डोल्पा।हिमाली जिल्ला डोल्पामा मानव अधिकारको प्रवर्द्धन, संरक्षण र सामाजिक न्याय सुनिश्चित गर्न “मानव अधिकार तथा सामाजिक न्यायका अभियान अन्तरगत एकता परियोजना” परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

बुधबार दिउँसो डोल्पा सदरमुकाम दुनै स्थित सिदार्थ होटलमा ग्रामीण मुखी युवा अभियान नेपाल (रोयम नेपाल)ले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न जिल्ला स्तरीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य मानव अधिकारको प्रभावकारी संरक्षण तथा सामाजिक न्यायको प्रवर्द्धन गर्दै युवा मानव अधिकार रक्षक सञ्जाल गठन गर्नु रहेको रोयम नेपालका कर्णाली प्रदेश संयोजक सन्तोष विकले बताए। उनले भने, “यो कार्यक्रमले स्थानीय जिल्लामा मानव अधिकारको महत्त्व र युवाको भूमिकाबारे सचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने छ”।

कार्यक्रममा जिल्ला स्थित गैरसरकारी संघसंस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवाहरू, पत्रकार महसंघ र युवाहरूको सक्रिय उपस्थिति थियो।

अन्तरक्रियामा मानव अधिकार उल्लङ्घनका मुद्दा, सामाजिक न्यायको अभाव, र यस क्षेत्रका चुनौतीबारे गम्भीर छलफल गरिएको थियो। युवा मानव अधिकार रक्षक सञ्जालको गठनले भविष्यमा मानव अधिकार र सामाजिक न्यायका लागि प्रभावकारी ढंगले कार्य गर्ने अपेक्षा गरिएको छ।

संयोजक विकका अनुसार, यो सञ्जालले स्थानीयस्तरमा अधिकारको उल्लङ्घनबारे अध्ययन,अनुसन्धान र शिक्षा प्रवर्द्धन गर्नलाई सहयोग पुर्‍याउन, र मानव अधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न अग्रसरता लिनेछ। कार्यक्रममा सहभागीहरूले सञ्जाललाई प्रभावकारी बनाउन आवश्यक नीति, संरचना र क्रियाकलापबारे आफ्ना विचार प्रस्तुत गरेका थिए। आगामी दिनमा यस परियोजनालाई थप संस्थागत गर्दै मानव अधिकार संरक्षण र सामाजिक न्यायका लागि दीर्घकालीन योजना बनाउने सक्रिय युवाहरुको भेला गरिने विकको भनाइ छ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!