ताजा समाचार

प्रदेश मन्त्री शेरबहादुर बुढाद्वारा छलगाडमा पक्की पुलकाे शिलान्यास 

विष्णुप्रसाद देवकोटा 

डाेल्पा,कात्तिक १० गते ।डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने छलगाडमा पक्की पुलको शिलान्यास गरिएकाे छ ।

कर्णाली प्रदेश सरकारका भाैतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाले विशेष कार्यक्रमका बीच  त्रिपुरासुन्दरी भगवती मन्दिरका पुजारी टंकप्रसाद उपाध्यायबाट मन्त्रउच्चारण सहित पुजाआजा गराएर पक्की पुलकाे शिलान्यास गर्नु भएकाे हाे ।

छलगाडमा बन्ने पक्की पुलकाे शिलान्यास गर्ने क्रममा भाैतिक पूर्वाधार  तथा शहरी विकास मन्त्री बुढाले पुल निर्माण कार्यले निर्धारित समयमा सम्पन्न हुनेमा आफू बिश्वस्त रहेकाे बताउनु भयाे ।

प्रदेश सरकारकाे प्रमुख प्राथमिकतामा भेरिकरिडाेर सडककाे स्तरउन्नतीका साथै पक्की पुल निर्माण भएकाले गुणस्तरीय र निर्धारित समयमै सक्न निर्माण कम्पनी वाइपीएमआर जेभि भरतपुर चितवनका प्राेपराइटर रमेश भट्टराईलाई निर्देशन समेत मन्त्री बुढाले दिनु भएकाे छ ।

भेरिकरिडोर सडक अन्तर्गत पर्ने उक्त पक्की पुलको निर्माण कार्य वाइपी एमआर जेभि भरतपुर चितवनले शुरु गर्न लागेकाे हाे ।

२०८३ साउन भित्रमा सम्पन्न गर्ने गरि मन्त्रीवाट पुलकाे शिलान्यास गरिएकाे निर्माण कम्पनीका प्राेपराइटर रमेश भट्टराईले बताउनु भयाे ।

एउटा मात्र स्पाम रहने पक्की पुलको निर्माण अवधी ४२ महिना मध्ये ९ महिना पुलको डिजाइनको समय रहेकोमा डिजाइन लगायत लेआउटको काम सम्पन्न गरि छिटाेभन्दा छिटाे पक्की पुलकाे निर्माण कार्य सक्ने गरि काम शुरु भएकाे निर्माण कम्पनीले जनाएकाे छ ।

अबकाे ३३ महिना भित्रमा पुल निर्माण भईसक्ने वाइपी एमआर जेभिकाका प्राेपराइटर भट्टराईले बताउनु भयो ।छलगाडमा निर्माण शुरु गरिएकाे  पुल ४० मिटर लम्बाई ११ मिटर चौडाईको हुने छ ।

भेरिकरिडोर सडक खण्ड अन्तर्गतको डोल्पाको त्रिपुरासुन्दरी–१ छलगाडमा पुल नहुँदा सवारी आवागमनमा समस्या हुदै आएको छ ।वाइपी एमआर जेभि भरतपुर चितवनले डोल्पामा पर्ने छलगाड, खदाङ लगायत जाजरकोटको तल्लु र रुकुम पश्चिमको अनाहज्युला जोड्ने भेरिनदी माथिको पक्की पुल  निर्माणको जिम्मेवारी पाएको छ ।तल्लु र खदाङमा हाल अस्थाई रुपमा बेलिब्रिज पुल निर्माण भई सवारी साधन संचालनमा छन ।

तर छलगाड खोला माथि बेलिब्रिज पुल नभई एकैसाथ पक्की पुल निर्माण गरिन थालिएकाे हाे ।

स्थानीय अवरोध लगायत कानुनी अडचन नआएमा आगामी वर्ष २०८२ को असार मसान्त भित्रमा पक्की पुल निर्माण गरि सक्ने निर्माण कम्पनीले जनाएको छ ।

पुल निर्माणको लागि प्रयाप्त बजेट विनियोजन भएको र त्रिपुरासुन्दरी नगरपालिकाका मेयर जनचन्द्र रोकाया लगायतको पहल सकरात्मक रहेकाले पुल निर्माण छिटोभन्दा छिटो सम्पन्न गरिने निर्माण कम्पनीका प्राेपराइटर भट्टराईले बताउनु भयो ।

जाजरकोटको तल्लुबगरस्थित भेरिनदि माथिको पुल डोल्पाको खदाङस्थित हरियापानी र छलगाड खोला माथि गरि तीन ओटा पक्की पुल निर्माणको लागि ३६ करोडमा वाईपी एमआर जेभिे भरतपुर चितवनले जिम्मेवारी लगेको छ ।

पक्की पुल शिलान्यास कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र राेकाया त्रिपुरासुन्दरी नगरपालिका वडा नम्वर १ २ र ३ का वडाअध्यक्ष रामचन्द्र कुलाल टंक थापा र भक्तबहादुर केसी लगायत स्थानीयकाे उपस्थित थियाे ।पुल निर्माणकाे लागि चाहिने सम्पुर्ण उपकरण सहितका सामाग्री र जनशक्ति निर्माण स्थलमा पुगि सकेकाे समेत निर्माण कम्पनीले जनाएकाे छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!