ताजा समाचार

दशैंमा पनि सम्पर्कविहीन मुड्केचुला, टावर सुचारु गर्न युवाको प्रजिअलाई खुला पत्र

डोल्पा, मुड्केचुला । दशैंजस्तो महान् पर्वमा आफन्तसँग भेटघाट र खबरदारी गर्ने बेलामा मुड्केचुलाका बासिन्दा भने टेलिफोन सम्पर्कविहीन बनेका छन्।

झण्डै तीन महिनादेखि अवरुद्ध नेपाल टेलिकमको टावर अझै सुचारु नभएपछि मुड्केचुला गाउँपालिका–६ नर्कुका युवा दिपकसिंह ठकुरीले प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालालाई सम्बोधन गर्दै खुला पत्र लेखेका छन्।

ठकुरीले पत्रमा दशैंमा पनि आफ्ना परिवारजनसँग दुई शब्द साट्न नसक्नुको पीडा पोख्दै, “गाउँमा बसेका हामी आमा–बुबा, दाजुभाइ र दिदीबहिनीले टाढा परदेशिएका आफ्ना प्रियजनसँग फोनमा कुरा गर्ने साधनसमेत हराएको छ, यो कस्तो विडम्बना हो?” भनेर गुनासो गरेका छन्।

उनले पटक–पटक गाउँपालिकामा समस्या राख्दा “यो पालिकाको अधिकारक्षेत्रबाहिरको हो” भन्दै पन्छाइयो, नेपाल टेलिकमलाई जानकारी गराउँदा पनि कुनै जवाफ नआएको उल्लेख गरेका छन्। मुड्केचुलाको टावरमा समस्या नभई रुकुम पश्चिम, गोतमकोट डाँडामा रहेको रिले टावर बिग्रँदा मोबाइल सेवा ठप्प भएको ठकुरीले बताएका छन्।

यसैबीच, डोल्पा न्यूजसँग कुरा गर्दै नेपाल टेलिकम डोल्पाका प्रमुख दयाविक्रम केसीले गोतमकोटस्थित रिपिटर टावर मर्मत गरेपछि केही दिन सेवा चले पनि पुनः ‘सिस्टम डाउन’ भएको र शनिबार बिहानै प्राविधिक टोली खटिसकेको जानकारी दिए। उनका अनुसार सम्भवतः साँझसम्म सेवा सुचारु हुने आशा गरिएको छ।

तपाईको प्रतिक्रिया