विष्णुप्रसाद देवकोटा 
डोल्पा(त्रिपुरासुन्दरी)२५ साउन । लामो समयदेखि विद्यालय शिक्षामा कार्यरत राहत शिक्षकलाई स्थायीकरणको माग गरिएको छ। नेपाल राहत शिक्षक संघर्ष समिति डोल्पाले त्रिपुरासुन्दरी नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत भिमबहादुर थापालाई स्थायीकरणकाे मनग गर्दै ज्ञापनपत्र बुझाएको हो।
राहत शिक्षक संघर्ष समिति डोल्पाका अध्यक्ष पुर्णकेशर न्यौपानेद्वारा हस्तान्तरण गरिएको उक्त ज्ञापनपत्रमा राहत शिक्षकको स्थायी व्यवस्था मिलाउन शिक्षा समितिलाई दबाब दिन, बेरोजगार शिक्षकलाई प्राथमिकता दिई दरबन्दी सिर्जना गर्न र आगामी कार्यक्रम केन्द्रीय समितिको निर्देशनअनुसार अघि बढाउन माग गरिएको छ।
समितिका अनुसार राहत शिक्षक स्थायीकरणको प्रक्रिया अन्तिम तयारीमा पुगेको बताएकाे छ। यसलाई शीघ्र कार्यान्वयन गर्न सरकार र सम्बन्धित निकायसँग पहल आवश्यक रहेको अध्यक्ष न्याैपानेले बताए ।यसैगरी पेशागत अधिकार सुनिश्चित गर्दै शिक्षाको गुणस्तर वृद्धि गर्न राहत शिक्षकको योगदानलाई औपचारिक मान्यता दिनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

डोल्पा न्यूज । २५ श्रावण २०८२, आईतवार १८:३६