विष्णुप्रसाद देवकोटा डाेल्पा,फागुन १२ गते ।शे फाेक्सुण्डाे गाउँपालिकामा पर्ने शे गुम्बामा मनाईने १२ वर्षे मेलाकाे तयारीका लागि मेला मुल आयाेजक समिति गठन गरिएकाे छ ।
शे गुम्बा’मा वि.सं. २०८१ भदौ १६ देखि १९ गतेसम्म १२ वर्षे मेला आयाेजना गरिन लागेकाे हाे ।
मेलालाई ब्यवस्थित र अनुशासितरुपमा सम्पन्न गर्न लामा गुरु निमा रिम्पाेछे संरक्षक रहने गरि उपल्लाे डाेल्पाका शे फाेक्सुण्डाे डाेल्पाेबुद्द र छार्काताङसाेङ पालिकामा समान समान रुपले समिति ‘शेल्री डुग्ड्रा मेला’ आयोजक समिति गठन गरिएकाे हाे ।
हरेक १२ वर्षमा आयोजना गरिन लागिएको याे मेलाको ६७ औं संस्करण हो।मेलाका अबसरमा शेल्री डुग्ड्रा तीर्थ कोरा (घुम्नु), पूजापाठ, ध्यानलगायत विभिन्न धार्मिक गतिविधिहरू गरिने गाउँपालिका अध्यक्ष धावा साम्दुक लामाले बताए ।
मेला भरेमा धेरै तीर्थ घुमे बराबर पुण्य प्राप्त हुन्छ भन्ने जनविश्वास अनुसार प्रत्येक १२ वर्ष पछि मेलाकाे आयाेजना गरिदै आउने गरेकाे डोल्पाका शिक्षासेवी सेम्दुक लामा बताए ।
मेलास्थल शे गुम्बा पुग्न फोक्सुन्डो तालबाट दुई दिन पदयात्रा गर्नुपर्छ। फोक्सुन्डो ताल पुग्न भने सडक यात्रा वा हवाई यात्रापछि दुई दिन एक बिहान हिँड्नु पर्छ।
नेपालगञ्जबाट डोल्पाको जुफाल विमानस्थलमा उडान भरेर करिब ८ किलोमिटर जिप यात्रामा सुलिगाड पुगिन्छ भने काठमाडौ र नेपालगन्जबाट जाजरकोट हुँदै सुलिगाडसम्म गाडीबाट समेत यात्रा गर्न पनि सकिन्छ।
सुलिगाडबाट हिँडेर पहिलो बास छेप्कामा, दोस्रो बास चुनुवारमा बस्नु पर्छ भने तेस्रो दिनको बिहान खाना खान फोक्सुन्डो ताल किनारको रिग्मो गाउँमा पुगिन्छ।
डोल्पामा प्रत्येक १२ वर्षमा एक पटक मनाइने एक भव्य र महत्त्वपूर्ण उत्सवकाे रुपमा याे मेलालाई लिइने गरिन्छ ।
उपल्लो डाेल्पाका स्थानीय बासिन्दाहरूले यसलाई ठूलो सांस्कृतिक र धार्मिक महत्त्व बोकेको पर्वकाे रुपमा मनाउँदै आउने गरेका छन ।याे मेलाले तीर्थयात्रीहरू र टाढाका ठाउँहरूबाट आगन्तुकहरूलाई आफुप्रति आकर्षित गर्ने गर्दछ।
प्राकृतिक सुन्दरताले धनी उपल्लो डाेल्पामा पर्ने शे मा हरेक १२ वर्षमा एक पटक मनाईने मेलाले पर्यटन प्रवद्दर्नमा सहयाेग पुर्याई स्थानीयकाे आर्थिकाेपार्जनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएकाे छ ।