ताजा समाचार

यसरी उठांउछन राजमार्गमा ट्राफिकले घुस

सिट खाली भएको गाडी पाउने आशमा कोहलपुर चौराहामा करिब एक घन्टा बिताएँ। कुर्दाकुर्दै साँझको साढे ४ बज्यो।

यसबीच झन्डै एक दर्जन हाइस गाडी सुर्खेततिर हुइँकिए। कुनै पनि गाडीमा टाउको घुसाउनेसम्म ठाउँ थिएन। तर हरेक गाडीका कन्डक्टरहरू ‘सिट मिलाउँछु’ भन्दै भित्र हुल्न खोज्थे।

शुक्रबार (चैत २३) मलाई सुर्खेत जानु थियो। सिट खाली भएको गाडी पाउन मुस्किल देखेपछि साढे ४ बजेतिर एउटा गाडी रोकेँ। खचाखच यात्रुले बस्ने ठाउँ थिएन। तैपनि घर पुग्नु थियो। सबभन्दा अगाडिको सिटको खुट्टा राख्ने खाली ठाउँमा एउटा बाल्टी घोप्टो पारेर राखिएको थियो। रङ (कलर) को रित्तो डिब्बा हुनुपर्छ।

कन्डक्टरले मलाई त्यसैमा बस्न आग्रह गर्दै भने, ‘मिलेर बसौं है।’

बडो मुस्किलले अटसमटस गर्दै बसेको मात्र के थिएँ, अघिल्लो सिटमा बसेका युवा र कन्डक्टरबीच चर्काचर्की भइहाल्यो।

कोहलपुर बसपार्कबाट छुट्ने बेला कन्डक्टरले ‘अब एक जना मान्छे पनि हाल्दैन’ भनेका रहेछन्।

म गाडीमा चढेपछि उनीहरू ‘ठाउँ छैन, मान्छे किन हालेको’ भन्दै गाडीको कन्डक्टरमाथि खन्निए।

युवाहरूको आक्रोश मत्थर पार्न ड्राइभर आफैं अघि सरे।

ड्राइभरले भने, ‘हाम्रो पनि व्यापार-व्यवसाय हो, बिहान मुस्किलले १४ जना बोकेर नेपालगन्ज गएको, अहिले फर्किँदा यत्ति नहाले त किस्ता कहाँबाट तिर्नु?’

गाडीमा भारतबाट आएका युवाहरूको समूह थियो।

उनीहरूमध्ये एक जनाले बडो फूर्तिका साथ धम्की दिँदै भन्यो, ‘मेरो पनि पुलिसमा मान्छे छन्, यो गाडीलाई रोकाइदिन्छु।’

जबाफमा ड्राइभरले भने, ‘पुलिसले रोकेपछि तपाईंहरूलाई नै ढिला हुने हो।’

१६ सिट क्षमताको गाडीमा २६ जना थिए। भारतबाट आएका युवाहरूको सामानले गाडीको छत गाडी जत्तिकै अग्लो थियो।

मलाई लाग्यो — ती युवाले पुलिसलाई भन्नै पर्दैन।

ओभरलोडका कारण पहिलो चेकिङमै गाडी रोकिनेछ। ट्राफिकले गाडी रोकिदिएमा कतै अलपत्र परिने हो कि भन्ने चिन्ता पनि मनभित्र थियो। युवा र गाडी स्टाफको विवाद चलिरहँदा कौशिलानगर ब्यारेकबाट बिदामा निस्किएका दुई जना सेनाका जवान थपिए।

गाडी चिसापानीको प्रहरी चेकपोस्टमा रोकियो। कन्डक्टरले इन्ट्री गरे। यात्रु संख्या कति टिपाए थाहा भएन। रोडमै उभिएका प्रहरी जवानले हातले इसारा गर्दै अघि बढ्न भने। लगत्तै नेपाली सेनाको चेकपोस्ट आयो। त्यहाँ पनि इन्ट्रीपछि गाडी सहजै छुट्यो।

करिब एक घन्टामा गाडी बबई पुग्यो। बबई बजारको मुखैमा ट्राफिक चेकिङ भइरहेको थियो।

अलि वरैबाट ड्राइभरले कन्डक्टरलाई आदेशात्मक शैलीमा भने, ‘ओई, सयको पत्ता हालेर (ब्लु–बुकभित्र) झरिहाल त छिटो।’

कन्डक्टरले ‘ल…ल’ भने।

गाडीबाट झर्नुअघि कन्डक्टरले गाडीको ढोका ढ्याप्प लगाए।

अनि यात्रुहरूलाई भने, ‘कोही पनि बाहिर नहेर्नू है, झ्याल पनि नखोल्नू होला।’

केही यात्रुले कुरा बुझिसकेका थिए।

कन्डक्टर ट्राफिक भएतिर जाँदै गर्दा ड्राइभरले भने, ‘तपाईंहरूले हेर्नुभयो भने (ट्राफिकले) लाज मान्छन् के!’

गाडीभित्र हाँसोको फोहोरा छुट्यो। प्रहरीले सय रूपैयाँ घुस खाएको सबैले थाहा पाए।

एक मिनेटमै बबई पुल कट्यो। फेरि गाडी रोकियो। त्यहाँ पनि प्रहरी चेकपोस्ट थियो। त्यहाँ भने ड्राइभर आफैं झर्नुपर्‍यो।

इन्ट्री काउन्टरमा पुगेका कन्डक्टरले ड्राइभरलाई भने, ‘सरले बोलाउनुभएको छ, यता आउनुपर्‍यो।’

ड्राइभर आफ्नो सिटबाट झरेर प्रहरी भएतिर गए।

अनि फर्केपछि गुनासो पोख्दै भने, ‘आफ्नो प्रदेशमा झन् सताउँछन् यार!’

बबईपारि लुम्बिनी प्रदेश (बर्दिया) को प्रहरी चेकिङ थियो भने बबईवारि कर्णाली प्रदेश (सुर्खेत) को। गाडीवालालाई दुबैतिर पैसा बुझाउनुपर्ने बाध्यता रहेछ। ड्राइभर आफैं झरेर गएकाले सुर्खेतपट्टि उनले कति रूपैयाँ बुझाए, त्यो त थाहा भएन। तर उनको बोलीले ‘दाम’ चढाएको स्पष्ट हुन्थ्यो।

अत्यधिक लोडका कारण ठाउँठाउँमा गाडीले भुइँ छुन्थ्यो। गाडीको ‘बडी’ लच्किन्थ्यो। ड्राइभर भने साह्रै गफाडी।

उनी बडो फूर्तिसाथ यात्रुहरूलाई सुनाइरहेका थिए, ‘ढुक्क हुनुहोस्, यो भिआइपी गाडी हो, लक्जरियस छ।’

गाडीको मूल्य कति हो खुलाएनन्, तर अहिले यस्तै गाडीलाई ९५ लाख रूपैयाँ पर्ने भन्न भ्याए। यात्रुहरू कोही गफाडी ड्राइभरको ‘हावा गफ’ सुनेर हाँसिरहेका थिए भने कोही विश्वास मानेर गम खाइरहेका थिए।

गाडीको सिट क्षमताअनुसार १५ जना यात्रुको बीमा गरिएको उनले सुनाए।

भन्दै थिए, ‘गाडी केही भइहाल्यो भने ज-जसले टिकट काट्नुभएको छ, उहाँहरूले मात्र बीमा पाउनुहुन्छ।’

टिकट नकाटेर बीचबाट चढेका मजस्तै आधाभन्दा बढी यात्रु त ट्वाँ!

गाडी सेनाको हर्रे चेकपोस्टमा इन्ट्री भएर छिन्चु पुग्यो। टोलीखोला पुल कट्नेबित्तिकै प्रहरीको चेकपोस्ट थियो। त्यहाँ पनि ड्राइभरको इसाराअनुसार कन्डक्टरले ५० रूपैयाँको नोट ब्लु-बुकमा राखेर दिए।

गाडी साढे ७ बजेतिर सुर्खेत उपत्यकाको प्रवेशद्वार सुब्बाकुना पुग्यो।

ड्राइभरले कन्डक्टरलाई भने, ‘सय हाल (ब्लु-बुकमा) है, अलि छिट–छिटो गर’।

केही नबोली झरेका कन्डक्टरले गाडी इन्ट्री गरेर फर्किए।

ड्राइभरले गाडी अघि बढाउन खोजे। तर एक जना प्रहरी जवान आएर गाडी चेकिङ गरेजस्तो गर्न थाले।

‘ओहो ! कति धेरै मान्छे हालेको? अनि माथि के हो यति धेरै सामान?’ ती प्रहरी जवानले भने।

प्रहरीको चालाबाट ड्राइभर अचम्मित भए। र, मौन!

त्यसपछि चेकिङको नाममा आएका ती प्रहरी जवानले आफैं भने, ‘खै त, सम्झना भएको छैन नि!’

अनि ड्राइभरले कन्डक्टरतिर कर्के नजर लगाउँदै हकार्दै भने, ‘तैंले सरहरूलाई सम्झिनस्? जा छिटो सम्झेर आइज।’

कन्डक्टर फेरि चेकपोस्टतिर दौडिँदै गएपछि ड्राइभरले यात्रुलाई सुनाए, ‘हुन त यो (कन्डक्टर) भाइ नाता पर्छ, तर बडो बेइमान छ। उता दिएँ भनेर यता हान्ने सोचेको हुँदो हो।’

यात्रुहरू फेरि गलल हाँसे, जसरी बबईमा हाँसेका थिए।

चेकपोस्टमै पुगेर घुस बुझाएपछि ड्राइभइरले सुरूमै पैसा नदिनुको कारण सोध्दै कन्डक्टरसँग ‘स्पष्टीकरण’ लिए।

कन्डक्टरले छोटोमा भने, ‘केही चालचुल गरेनन्, छोडिहाल्लान् भन्ने लागेर।’

सय रूपैयाँ दाम चढाएको संकेत पाएपछि चेकिङको बहानामा गाडीको वरिपरि घुमिरहेका ती प्रहरी जवान खुसी देखिए।

‘ल जाऊ यार भाइ!’ उनले ड्राइभरलाई बडो प्यारका साथ भने।

घुसका कथा र कहानी प्रशस्तै सुनेको थिएँ। तर यसपटक आँखाअगाडि घुस खाएको देखेँ।

सुरूमा त सोचेँ — पचास, सय रूपैयाँ त हो। सुर्खेत आएपछि एक जना यातायात क्षेत्रका व्यक्तिसँग आफूले देखेको दृष्टान्त सुनाएँ।

उनको जवाफ थियो, ‘यो त एकदमै सामान्य प्रक्रिया (घुस) हो।’

उनीसँगै कुरा गर्दै जाँदा त्यही सामान्य प्रक्रियाभित्र घुसको ठूलो अर्थतन्त्र लुकेको रहेछ भन्ने थाहा पाउँदा पनि आफैं चकित भएँ। ती व्यक्तिका अनुसार प्रायः सबै यात्रुवाहक सवारी साधनले सुर्खेत-नेपालगन्ज रूटमा ओहोरदोहोर गर्दा पाँच ठाउँ (सुब्बाकुना, छिन्चु, बबई वारि, बबई पारि र चिसापानी) मा घुस खुवाउनुपर्छ। सवारी इन्ट्री गर्दा वा कागजात जाँच गर्दा ५० देखि सय रूपैयाँ ब्लु-बुकभित्र हालेर दिने गरेको उनले बताए।

यो रूटमा अहिले दैनिक कम्तीमा तीन सय सवारी आवतजावत गर्छन्। एक ठाउँमा कम्तीमा ५० रूपैयाँ मात्र दिँदा पनि एउटा सवारीले पाँच ठाउँमा दुई सय ५० रूपैयाँ बुझाउँदो रहेछ। यस हिसाबले दैनिक करिब ७५ हजार रूपैयाँ ‘प्रहरीले गाडी चेक नगरेबापत’ बुझाउँदा रहेछन्। यो घुस रकम मासिक करिब २२ लाख ५० हजार रूपैयाँ हुन्छ। सामान्य र स्वाभाविक मानिने यसबाहेक बेलाबेला थप दस्तुर पनि तिर्नुपर्ने ती यातायात व्यवसायीले बताए।

मैले यो घुसको एकमुष्ट अंक सुनाउँदा ती यातायात व्यवसायीले जिब्रो टोक्दै भने, ‘हाम्रो लागि त पचास-सय रूपैयाँ भन्ने लाग्छ, तर यति ठूलो रकम हुँदो रहेछ है!’

पैसा नबुझाएमा ट्राफिकले अनेक दुःख दिने गरेको उनले बताए। गाडीमा क्षमताभन्दा बढी यात्रु र सामानदेखि अन्य कमजोरी पनि हुने गरेकाले त्यसबाट बच्न पचास-सय रूपैयाँ सहजै दिने गरेको उनले बताए।

उनले सुर्खेत-नेपालगन्ज रूटमा ‘ट्राफिक दस्तुर’ का केही लुकेका कथा पनि सुनाए।

बबईको पुल वारि र पारि फरक जिल्ला तथा प्रदेशको प्रहरी भएकाले दुई ठाउँमा घुस दिने गरिएको उनले बताए। त्यसैगरी बबई पुलपारि घुस दिएमा चिसापानीको पोस्टमा दिनु नपर्ने र चिसापानीको पोस्टमा दिएको खण्डमा बबईपारिको चेकिङ टोलीलाई दिनु नपर्ने उनको भनाइ थियो।

‘एउटै टोली हुने भएकाले एक ठाउँमा दिएपछि अर्को ठाउँमा कुरा मिलिहाल्छ,’ उनले भने।

राजमार्गको घुस रकम कहाँ जान्छ — एक जना प्रहरीलाई मैले सोधेँ।

उनको जबाफ थियो — फिल्डमा खटिएका जवानदेखि ‘माथि’ सम्मै पुग्छ!

उनले भनेको ‘माथि’ कति माथि हो, त्यो स्पष्ट भएन।

बरू संकेत गर्दै भने, ‘जिल्लाको कमाण्डर मात्र सन्तुष्ट भएर हुँदैन, अब आफैं बुझ्नू न।’

यसरी जम्मा भएको रकम मासिक रूपमा सम्बन्धित ठाउँमा बाँडफाँट गर्ने गरिएको उनले बताए।

यात्राको क्रममा घुस दिने गाडीका स्टाफदेखि घुस लिने केही प्रहरीको नामसमेत चिनियो। तर मैले यहाँ उनीहरूको परिचय खुलाउन आवश्यक ठानिनँ।

किनकि उनीहरूमाथि ‘माथि’ बाट कारबाहीको डन्डा नबज्रेला भन्ने के ग्यारेन्टी?

पत्रकार कलेन्द्र सेजुवालकाे ट्विटर पेजवाट

तपाइको प्रतिक्रिया

error: Content is protected !!