ताजा समाचार

अब सुर्खेतबाटै नेपाल एयरलाइन्सले  कर्णाली र सुदूरपश्चिममा हवाई सेवा सञ्चालन गर्ने

विष्णुप्रसाद देवकोटा

सुर्खेत ।सुर्खेतबाट कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा नेपाल एयरलाइन्सले नियमित हवाई सेवा शुरु गर्ने भएकाे छ ।

सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले थप सेवा विस्तार गर्ने क्रममा सुर्खेत केन्द्रविन्दु बनाएर फागुनको पहिलो सातादेखि  हवाई सेवा शुरु गर्न लागेको हो ।

सुर्खेतदेखि साबिक कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पा, बाजुरामा नियमित हवाई उडान गर्ने तयारी गरिएको नेपाल एयरनाइन्सले जनाएको छ ।

नेपाल एयरलाइन्सका उडान परियोजना निर्देशक महेशकुमार मरिताले फागुन पहिलो सातामा साबिक कर्णालीका एयरपोर्टमा परीक्षण उडान गरे लगत्तै नियमित उडान शुरु गरिने बताए ।

उनले प्रदेश राजधानी सुर्खेतबाट संघीय राजधानी काठमाडौंसहित साबिक कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा हवाई उडानबारे अध्ययनका क्रममा आफुहरु अहिले सुर्खेत आएको जनाए ।

सुर्खेतदेखि साबिक कर्णालीमा नेपाल एयरलाइन्सले विगतमा उडान गर्दै आएको बताउँदै उनले यसपटक बजार माग, अप्रेसन खर्चलगायतको सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन तयार पारी आउँदो साता भित्रै सरकारलाई बुझाइने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको संयोजनमा आयोजित छलफल कार्यक्रममा नेपाल एयरलाईन्स सुर्खेत फ्लाइट अप्रेसन इन्चार्ज देवेन्द्र पुनले सुर्खेतबाट साबिक कर्णालीसँगै सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लाहरुमा व्यावसायिक उडान गर्ने गरी आवश्यक तयारी भईरहेको जनाए ।

 उनले साबिक कर्णालीका एयरपोर्टमा उडान सञ्चालनको तीन महिनापछि सुर्खेतमै जहाज नाइटस्टे गर्ने तयारी पनि भइरहेको जानकारी दिए ।

नेपाल एयरलाइन्सले तीन वटा नयाँ जहाज खरिद गर्ने प्रक्रियामा रहेको हुँदा नियमित उडान हुनेमा विश्वस्त रहन उनले आग्रह गरे ।

भौगोलिक विकटतासहित प्राकृति विपद् भइरहने भएकाले सरकारको उपस्थिति देखाउन पनि नेपाल एयरलाइन्सले कर्णालीमा नियमित उडान सेवा सञ्चालन गर्न लागेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!