ताजा समाचार

प्रत्येक वडामा पुगेर वडा स्तरको एकीकृत घुम्ती शिविर सञ्चालन गर्दै मुड्केचुला गाउँपालिका 

डोल्पा: डोल्पाको मुड्केचुला गाउँपालिकाले वडा स्तरको एकीकृत घुम्ती शिविर सञ्चालन गरिरहेको छ। मुड्केचुला गाउँपालिकाको समन्वय तथा स्वास्थ्य शाखाको आयोजनामा गत चैत्र ११ गते सोमबार देखि पालिका भित्रका वडाहरुमा सबै नागरिकको स्वास्थ्य अवस्था चेकजाँच गर्न एकीकृत घुम्ती शिविर सञ्चालन भइरहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख शम्भु मोरीक यादवले जानकारी दिए।

शाखाले पहिलो चरणमा पालिकाको वडा नं ०७ को सर्मि, वडा नं ०८ को ओक्ट, वडा नं ०९ को होर्तमा शिविर सम्पन्न गरेको छ। शिविरमा ३ वडाका १ सय ९८ जनाले सेवा लिएका छन्।

शिविरमा विशेष गरी वडा भित्रका ज्येष्ठ नागरिकहरुको भिडियो एक्सरे, नसर्ने रोग तथा सरुवा रोग सम्बन्धी चेकजाँच गरिएको छ।

त्यस्तै महिलाहरूमा पाठेघरको मुखमा हुने क्यान्सरको चेकजाँच गर्नुका साथै छ महिना देखि ५ वर्ष सम्मका बालबालिकालाई कुपोषणको चेकचाज समेत गरिएको थियो।

शिविरको अवसरमा ३ वडाका १९ जना सुत्केरी आमाहरुलाई सुत्केरी भत्ता समेत वितरण गरिएको शाखा प्रमुख यादवले जानकारी दिए। साथै चेकजाँचको क्रममा २ जना महिलाहरुलाई पाठेघरको मुखमा हुने क्यान्सरको लक्षण भेटिएको र रोकथामको लागि आवश्यक परामर्श दिइएको र गर्भवती महिलाहरू भिडियो एक्सरे गरिनुका साथै ज्येष्ठ नागरिकहरूमा चेकजाँच गर्दा उच्च रक्तचाप र चीनी रोगको सम्भावना देखिएको बताइएको छ।

पालिकाले बाँकी ६ वडामा केही दिन पछि देखि एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने र शिविरमा सबै वडाका नागरिकले सेवा लिन गाउँपालिकाका अध्यक्ष्य दत्त बहादुर शाहीले जानकारी दिए।

तपाईको प्रतिक्रिया