ताजा समाचार

डाेल्पाकाे तिप्ला गाउँमा नेपाल टेलिकमको मोबाइल सेवा सुरु

विष्णुप्रसाद देवकोटा 

डाेल्पा साउन ११, दुनै ।डोल्पाको ठुलीभेरी नगरपालिका–४ स्थित दुर्गम तिप्ला गाउँ अब नेपाल टेलिकमको मोबाइल सेवाको पहुँचमा पुगेको छ। दुरसञ्चार कार्यालय डोल्पाले आइतवारदेखि तिप्ला गाउँमा मोबाइल सेवा सञ्चालनमा ल्याएको हो।

नेपाल टेलिकमले तिप्ला गाउँमुनिको डाँडामा एक BTS (बेस ट्रान्ससिभर स्टेशन) राखेर सो क्षेत्रका बासिन्दालाई मोबाइल तथा इन्टरनेट सेवा उपलब्ध गराउन थालेको दुरसञ्चार कार्यालयका प्राविधिक नवराज भट्टराईले जानकारी दिए। उनका अनुसार १८०० मेगाहर्जको ४जी र ९०० मेगाहर्जको २जी नेटवर्कसहितको टावर जडान गरिएको भए पनि हाल २जी नेटवर्क सञ्चालनमा रहेको र सोमबारभित्र ४जी सेवा सुरु हुने योजना रहेको बताए।

तिप्ला गाउँमा जडान गरिएको उक्त टावर अप्टिकल फाइबरको माध्यमबाट अपलिङ्क गरिएको हो। सो टावर सञ्चालनमा आएसँगै ठुलीभेरी नगरपालिका–४ तिप्ला, वडा नं. १ थाला, वडा नं. २ लोचा र कुम्ली लगायतका क्षेत्र, सशस्त्र प्रहरी बलको ब्यारेक, शे फो रानि सुरक्षा क्याम्प तथा कार्यालयसम्म सेवा विस्तार हुने कर्णाली प्रदेश दुरसञ्चार निर्देशनालयका निर्देशक डा. कमल लामिछानेले जानकारी दिए।

उनका अनुसार डोल्पामा अप्टिकल फाइबरमार्फत सञ्चालित यो चौथो मोबाइल टावर हो। यसअघि जुफाल, दुनै र त्रिपुरासुन्दरीमा यसप्रकारका टावर जडान गरिसकिएको छ। “डोल्पाका हरेक भूगोल र बस्तीमा सञ्चार सेवा पुर्‍याउने लक्ष्यसहित काम गरिरहेका छौं,” डा. लामिछानेले भने, “तिप्ला टावर अघिल्लो आर्थिक वर्षमै सञ्चालनमा ल्याउने योजना भए पनि मौसम, बाटो र प्राविधिक चुनौतीका कारण केही ढिलो भयो। नयाँ आर्थिक वर्षको सुरुवातमै यसलाई सञ्चालनमा ल्याइएको हो।”

डोल्पा जिल्लालाई उच्च प्राथमिकतामा राखेर सञ्चार सेवा विस्तारमा सक्रिय डा. लामिछानेले आगामी एक महिनाभित्र ठुलीभेरी नगरपालिका–१० र ११ नम्बर वडामा समेत मोबाइल सेवा विस्तारको काम सम्पन्न हुनेमा आशावादी रहेको बताए।

तपाईको प्रतिक्रिया