ताजा समाचार

राष्ट्रिय सभा सदस्य चुनाव माघ ११ गते गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव

काठमाडौं  । निर्वाचन आयाेगले राष्ट्रिय सभा सदस्य चुनाव आगामी माघ ११ गते गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव दिएकाे छ ।

आयाेगका पदाधिकारीले बिहीबार सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दै फागुन २० गते समाप्त हुने राष्ट्रिय सभा सदस्यको चुनाव माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आयोगको सिफारिसअनुसारकै मितिमा हुने गरी निर्वाचनको मिति तोक्ने प्रतिबद्धता जनाउनुभएकाे आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्तिमार्फ जानकारी दिनुभएकाे छ । ‘निर्वाचनको आवश्यक तयारी र निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने समय समेतलाई मध्यनजर गरी निर्वाचन मिति तोक्न उपयुक्त हुने देखिएकाले आयोगले ०८० माघ ११ गते बिहीबारका दिन निर्वाचन गर्ने गरी मिति तोक्न नेपाल सरकारलाई परामर्श दिइएकाे थियाे, साे निर्णयबमाेजिम आजै आयाेगका सम्पूर्ण पदाधिकारीबाट सिंहदरबारमा सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष निर्वाचनकाे मिति ताेक्ने सम्बन्धमा परामर्श उपलब्ध गराइएकाे थियाे’- विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रिय सभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । साे व्यवस्था बमाेजिम माघ १५ गतेसम्म चुनाव गरिसक्नुपर्ने भएकाले माघ ११ गते चुनाव गर्न परामर्श दिइएकाे आयाेगले जनाएकाे छ । प्रधानमन्त्रीले पनि आयाेगले सुझाव अनुसार अघि बढ्ने बताउनुभएकाे विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद आगामी फागुन २० गते रिक्त हुँदैछ । राष्ट्रिय सभामा प्रत्येक २ वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ ।

राष्ट्रिय जनगणना २०७८ को नतिजा बमोजिम राष्ट्रिय सभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगले निर्णय गरिसकेको छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!