विष्णुप्रसाद देवकोटा
त्रिपुरासुन्दरी,चुं गाउँ |दिनको मध्यान्ह । गाउँका स-साना गोठ, उकाली ओरालीका आँगनहरू चिस्स हावामा लपेटिएका थिए, तर त्यो एक क्षण — त्यो दृश्य — भिन्नै थियो । ६२ वर्षीया अपाङ्ग वृद्धा एक्कासी अघि बढिन्, अनि नगर उपप्रमुख देवी घर्तीलाई टक्क अँगालो हालिन् । भक्कानिँदै गाला टोकिन्, टोलो भरि निस्तब्ध भयो, मानिसहरू थकथकी मान्दै भावविह्वल भए। भन्दै थिइन् — “छोरीजस्ती लाग्छ्यौ… भगवानको हातले पठाएको मान्छे हौ तिमी ।”
यो कुनै योजना उद्घाटन कार्यक्रम थिएन, कुनै भाषण दिने ठाउँ थिएन — यो थियो दुःखको घाममा पोलिएका जीवनमा ममताको स्याहार पुग्ने पल । जहाँ पदभन्दा प्रेमले जितेको थियो।
नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक देवी घर्ती त्यहाँ अपाङ्गता भएका नागरिकहरूका लागि पोषण आहार बोकेर पुगेकी थिइन् — एक क्यारेट अण्डा र एक बोतल हर्लिक्स । कसैले हेर्दा थोरै, तर त्यो हातमा राखिँदा त्यो आहार भन्दा अग्लो केही थियो सम्मान, साथ, आशा।
देवी घर्ती साधारण शिक्षित, असाधारण सेवाभावले भरिएकी । पदको चमक होइन, पसल भित्रको खल्ती र मनको गहिराइबाट खर्च गर्न सक्ने मनकारी नेतृ। उनको भनाइ थियो ।“थोरै भए पनि यो पोषणले रोगसँग लड्ने बल दिन्छ । अझ महत्वपूर्ण, यसले उनीहरूलाई महसुस हुन्छ । राज्य छ, सरकार साथमा छ।”

उनको नेतृत्वमा, त्रिपुरासुन्दरी नगरपालिकाका ११ वटै वडामा २ सय ३४ जना अपाङ्गता भएका व्यक्तिहरूलाई पोषण आहार वितरण गरिँदैछ । तर यो कुनै सरकारी कार्यक्रमको ‘टिक’ होइन, यो स्पर्श हो – जसले मन छोन्छ, आँसु ल्याउँछ, भरोसा दिन्छ।
देवी घर्ती त्यही भरोसाको अर्को नाम हुँदै गएकी छन् । जहाँ नीति छैन, त्यहाँ उनी पुग्छिन् । जहाँ न्याय पर्खाइमा छ, उनी ढोका खट्काउँछिन् ।
र, आज पनि चुं गाउँको ती वृद्ध आमाका आँखा अझै रसाइरहेका होलान्, र उनी भित्रभित्रै भन्दै होलिन् “छोरीजस्ती लाग्छ्यौ तिमी… भगवानको वरदान हौ।”

डोल्पा न्यूज । ९ असार २०८२, सोमबार १८:०३