डाेल्पा, जेठ २४ – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ रंगमा सडक निर्माणको क्रममा एक्साभेटरले खसालेको ढुंगा लाग्दा एक जना पैदल यात्री गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार सडक डिभिजन कार्यालय मार्फत निर्माण भइरहेको सुँ देखि रंग सडक खण्डमा शुक्रबार दिउँसो ढुंगा खसेर अमरजीत बुढा (उमेर ३०), स्थानीय बासिन्दा घाइते भएका हुन्। बुढा त्रिपुराकाेट बगर बजार जाँदै गर्दा बाटोमै माथिबाट खसेको ढुंगा लागेका थिए।
ढुंगाले बुढाको टाउको, ढाड र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। हाल उनी जिल्ला अस्पताल डोल्पामा उपचाररत छन्।
सडक निर्माणमा प्रयोग भइरहेको एक्साभेटर बीपी कन्स्ट्रक्सन प्रालिको रहेको र घटना लगत्तै चालकसहित उपकरण नियन्त्रणमा लिनका लागि प्रहरी टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी निरीक्षक रुक बहादुर खड्काले जानकारी दिए।
यस घटनाले डोल्पामा निर्माण कार्यमा सुरक्षा मापदण्डको पालना नहुँदा सर्वसाधारणको जीवन जोखिममा पर्ने अवस्था उजागर गरेको छ।

डोल्पा न्यूज । २३ जेष्ठ २०८२, शुक्रबार २२:३१