विष्णुप्रसाद देवकोटा
डोल्पा,साउन १४।डोल्पाको सदरमुकाम दुनैस्थित जैरिगाड साना जलविद्युत केन्द्रको जेनेरेटर मेसिनको भित्रि क्वायल जलेपछि विद्युत उत्पादन अनिश्चितकालका लागि ठप्प भएको छ।
करिब ७० किलोवाट विद्युत उत्पादन गर्दै आएको केन्द्रको मुख्य युनिटको क्वायल आज बिहान सञ्चालनको क्रममा जलेर आगो लागेपछि सम्पूर्ण आपूर्ति बन्द भएको हो। यसअघि नै अर्को १०० किलोवाट क्षमताको युनिट बिग्रिएर प्रयोगविहीन रहेको हुँदा हाल सम्पूर्ण विद्युत सेवा अवरुद्ध भएको केन्द्रका प्रमुख धर्मपति यादवले जानकारी दिए।
बन्द रहेको जेनेरेटर मर्मत गरी चलाउने प्रयासमा छौं,” यादवले भने, “तर नेपाल विद्युत प्राधिकरणको झन्झटिलो प्रक्रिया र उपकरण अभावका कारण तत्काल समाधान सम्भव देखिँदैन।”
विद्युत आपूर्ति बन्द भएपछि दुनै बजारसहित डोल्पाका सरकारी तथा निजी कार्यालय, व्यापारिक प्रतिष्ठान र करिब दुई हजारभन्दा बढी उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन्।
२०५६ सालमा स्थापना भएको २०० किलोवाट क्षमताको जैरिगाड साना जलविद्युत केन्द्रले विगतदेखि नै मर्मतको अभावमा काम चलाउँदै आएको थियो। बारम्बार मर्मतको आवश्यकता परे पनि सम्बन्धित निकायको चासोको अभावले समस्या झन जटिल बन्दै गएको छ।
राष्ट्रिय प्रसारण लाइनका पोलहरू गाउँगाउँमा पुगे पनि विद्युत आपूर्ति अझै सुनिश्चित हुन सकेको छैन। रुकुम पश्चिमबाट डोल्पातर्फ आउने प्रसारण लाइन हिजो रातिको भारी वर्षाले अवरुद्ध भएको र हाल मर्मत कार्य भइरहेको जानकारी केन्द्रले दिएको छ।
श्रावण १४ गते बिहान क्वायल जलेर नष्ट भएपछि हाल चलिरहेको ‘कबाडी’ मेसिनसमेत पूर्ण रुपमा अवरुद्ध भएको हो। नेपाल विद्युत प्राधिकरणको ढिलो निर्णय प्रक्रिया र सामाग्री अभावका कारण सदरमुकाम दुनैसहित हजारौं उपभोक्ताले महिनौंसम्म अन्धकारमा बस्नुपर्ने अवस्था देखिएको छ।
धक्का लगाएर वर्षौँदेखि चल्दै आएको जैरिगाडको विद्युत प्रणालीले न त कुलमान घिसिङको ध्यान खिच्न सक्यो, न त वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव साक्यकै। परिणामस्वरूप, डोल्पाको केन्द्र दुनै र आसपासका दुई हजारभन्दा बढी उपभोक्ताका हजारौं नागरिक आधुनिक युगमा पनि अन्धकारमै जीवन बिताउन बाध्य भएका छन्।
तर जलविद्युत केन्द्र जैरिगाडले भने अहिले पुरानाे विग्रेर थन्किएको मेसिनलाई जाेडेर परिक्षण गर्ने काम भइरहेकाे र सम्भव भए साझ सम्म बत्ती बल्ने जनाएकाे छ ।

डोल्पा न्यूज । १४ श्रावण २०८२, बुधबार १४:०२