डोल्पा,— डोल्पाका उच्च हिमाली क्षेत्रमा यार्सा संकलन सुरु भएसँगै लेक लाग्ने बिरामीको संख्या बढ्न थालेको छ। आज (बिहीवार) मात्र फोक्सुण्डो स्वास्थ्य चौकीमा लेक लागेर बिरामी भएका तीनजनाको उपचार गरिएको छ भने एकजनाको अवस्था गम्भीर छ।
फोक्सुण्डो स्वास्थ्य चौकी प्रमुख पारस शाहीका अनुसार, उपचार गरिएका बिरामीमध्ये जाजरकोटको बारेकोट गाउँपालिका-५ तोलखानाका ५४ वर्षीय नरबहादुर सिंहलाई अवस्था सुधार नहुँदा जिल्ला अस्पतालमा रिफर गरिएको हो। त्यस्तै, त्रिपुरासुन्दरी-९ की शत्यवती बोहरालाई सामान्य उपचारपछि घर पठाइएको छ।
हाल चौकीमै उपचाररत जाजरकोट नलगाड-१३ की हितकुमारी विकको अवस्था भने गम्भीर रहेको र उनलाई पनि जिल्ला अस्पताल रिफर गरिएपनि भरिया खर्च अभावले लैजान नसकिएको प्रमुख शाहीले बताए। “हिड्न नसक्ने अवस्थाको बिरामीलाई पैसा नहुँदा उपचारमा ढिलाइ भइरहेको छ,” उनले भने, “लेक लाग्दा अक्सिजन र औषधीले नै बिरामीको ज्यान जोगाउनु पर्ने बाध्यता छ।”
फोक्सुण्डो स्वास्थ्य चौकीमा हाल Acetazolamide र Dexona जस्ता महत्वपूर्ण औषधीको अभाव छ भने अक्सिजनका लागि कान्छीमाया तामाङ फाउन्डेसनले उपलब्ध गराएको एक मात्र अक्सिजन कन्सन्ट्रेटरमा भर पर्नु परेको अवस्था छ। यद्यपि जिल्ला अस्पतालका डाक्टर अखण्ड उपाध्यायमार्फत थप एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने तयारी भइरहेको चौकी प्रमुख शाहीले जानकारी दिए।
स्थानीय प्रशासन र सम्बन्धित निकायको सहयोग विना यस्ता संकट समाधान कठिन हुने भन्दै चौकी प्रमुख शाहीले सबैलाई सहयोगको अपिल गरेका छन्।

डोल्पा न्यूज । ८ जेष्ठ २०८२, बिहीबार २०:३२