काठमाडौँ — नेपाली क्रिकेटको टिकेटिङ साझेदारको रूपमा आईएमई पे आएको छ । नेपाल क्रिकेट संघ (क्यान) र आईएमई डिजिटल सोलुसन लिमिटेडबीच बिहीबार रणनीतिक साझेदारमा सम्झौता भएको हो । क्यानका सचिव पारस खड्का र आईएमईका सीईओ प्रवीण रेग्मीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
क्यानको साझेदारमा आईएमई पे
सम्झौताअनुसार आईएमई पेले क्यानलाई वार्षिक ७५ लाख रुपैयाँ उपलब्ध गराउने छ । सुरुआती सम्झौता दुई वर्षको छ । टिकट बिक्री रकममध्येबाट आईएमई पेले १२.५ र क्यानले ८७.५ प्रतिशत राख्नेछ । आईएमईले क्यानबाट मैदानमा खटिने १ सय कर्मचारीको बिमा गरिदिने छ ।
क्यानले महिला र पुरुष क्रिकेट दुवैको टिकेटिङ पार्टनर आईएमई पेलाई बनाएको हो । राष्ट्रिय टोलीका पूर्वकप्तान खड्काले यो दुई वर्षको अवधिमा घरेलु मैदानमा झन्डै ६० अन्तर्राष्ट्रिय खेल आयोजना हुने जानकारी गराए । ‘अब हामी वार्षिक क्यालेन्डर सार्वजनिक गर्दैछौं र त्यसमा हामीले खेल्ने खेल समेट्ने छौं,’ खड्काले भने, ‘जतिसक्दो द्विपक्षीय शृंखला आयोजना गर्ने लक्ष्य राखेका छौं, त्यसमा महिला क्रिकेटलाई प्राथमिकतामा राखेका छौं ।’
आईएमई पेका सीईओ रेग्मीले डिजिटल भुक्तानी र नेपाली क्रिकेटका लागि यो सम्झौता ठूलो दिनको रूपमा रहेको जनाए । उनले भने, ‘आईएमई पेको डिजिटल वित्तीय समावेशिताको महाअभियान खेल र खेलाडीसँग जोड्दा झनै प्रभावकारी रूपमा लागू गर्न सकिने भएकाले साझेदारीप्रति उत्साही छौं ।’
सोमपाल र करण ब्रान्ड एम्बासडर
आईएमई पेले राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी र करण केसीलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । आईएमईले दुई खेलाडीलाई वार्षिक ५ लाख प्रदान गर्ने सीईओ रेग्मीले बताए । सम्झौता एक वर्षको हुनेछ ।
सोमपाल र करण राष्ट्रिय टोलीबाट लामो समयदेखि खेल्दै आएका खेलाडी हुन् । दुवैले व्यक्तिगत प्रायोजनले खेलाडीको हकमा ठूलो अर्थ लाग्ने बताए ।