ताजा समाचार

त्रिपुरासुन्दरी नपा–९ का वडाअध्यक्ष बुढा दुई दिनको प्रहरी हिरासतपछि छुटे

विष्णुप्रसाद देवकोटा

डोल्पा – त्रिपुरासुन्दरी नगरपालिका–९ का वडाअध्यक्ष राजबहादुर बुढा उपप्रमुख देवी घर्तीमाथि हातपात प्रयास र मोबाइल कब्जाको आरोपमा दुई दिन प्रहरी हिरासतमा बसेपछि छुटेका छन्। असार १२ गते साउन १२ गते जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुने सर्तमा तारेखमा उनी रिहा भएका हुन्।

०८२ असार ८ गते साँझ करिब ६ बजेतिर उपप्रमुख घर्तीमाथि वडाअध्यक्ष बुढाले कान्छीबजारमा अभद्र व्यवहार गर्दै हातपात प्रयास गरेर मोबाइल फोन समेत कब्जा गरेको आरोप लागेपछि उनलाई नियन्त्रणमा लिइएको थियो।

यसअघि असार १० गते बसेको १३औं नगरसभामा नीति तथा कार्यक्रम र बजेट पारित नहुने अवस्था देखिएपछि वडाअध्यक्ष बुढालाई राजनीतिक दबाबमा तारेखमा छुटाइएकाे स्राेतले जनाएकाे छ ।

नगरसभामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकटका अधिकांश वडाअध्यक्षहरू अनुपस्थित थिए। तर वडाअध्यक्ष बुढा प्रहरी हिरासतबाट रिहा भएपछि ती वडाअध्यक्षहरूको पनि उपस्थिति सुनिश्चित भई नीति तथा कार्यक्रम तथा बजेट सर्वसम्मत पारित हुने सहमति भएको उपप्रमुख देवी घर्तीले जानकारी दिइन्।

घटनाले त्रिपुरासुन्दरी नगरपालिकाको आन्तरिक राजनीतिक द्वन्द्व र प्रशासनिक दबाबबीचको सम्बन्ध उजागर गरेको छ। अब साउन १२ गते जिल्ला प्रशासनमा हुने छलफल र त्यसपछिका निर्णयले वडाअध्यक्ष बुढाको राजनीतिक भविष्यमाथि टुङ्गो लगाउने देखिएको छ।

तपाईको प्रतिक्रिया