बासुदेब शर्मा
जाजरकोट,कार्तिक २० गते ।
जाजरकोट केन्द्रविन्दु भएर सोमवार फेरि गएको भूकम्पमा एक युवती घाइते भएकी छिन् । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ राउतगाउँकी एक युवती घाइते भएकी हुन् ।
भूकम्प आएपछि बच्नलाई एक तलामाथिबाट हाम फाल्दा ती युवती घाइते भएकी हुन् । ती युवतीको घरमा भने कुनै क्षति पुगेको छैन ।
सोमवार दिउँसो करिब ४ः३१ बजेतिर गएको भूकम्पले यसअघि चर्काएका करिब आधा दर्जन घर पनि भत्काएको छ ।
जाजरकोटको भेरी नगरपालिका वडा नम्बर १ राउतगाउँ र वडा नम्बर ५ कालेगाउँमा रहेका उक्त घरहरू शुक्रवार रातिको भूकम्पले चर्काएको थियो । सोमवार दिउँसो साढे ४ बजेपछि आएको भूकम्पले ती घर भत्काएको छ ।
सोमवार काठमाडौं उपत्यकामा पनि भूकम्पको झड्का महसुस गरिएको थियो । सोमवार अपरान्ह साढे ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो ।
भारतको राजधानी नयाँ दिल्लीमा पनि भूकम्पको धक्का महसुस गरिएको समाचार संस्था एएनआईले जनाएको छ ।
यसअघि शुक्रवार राति ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।
पश्चिम नेपालका बुटवल, सुर्खेत र दाङ लगायतका स्थानमा पनि धक्का महसुस गरिएको छ