ताजा समाचार

साहित्यकार श्रीराम राई ‘गोधूलि भानु काव्य सम्मान–२०८२’ बाट सम्मानित

डाेल्पान्यूज संवाददाता।

काठमाडौ ।गोधूलि कला साहित्य प्रतिष्ठानद्वारा खोटाङका साहित्यकार तथा सञ्चारकर्मी श्रीराम राईलाई ‘गोधूलि भानु काव्य सम्मान–२०८२’ प्रदान गरिएको छ। २१२ औं भानुजयन्तीको अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित विशेष समारोहमा नेपाली भाषा, साहित्य र संस्कृतिको सम्वर्द्धनमा पुर्‍याएको योगदानका लागि राईलाई यो सम्मान प्रदान गरिएको हो।

दिक्तेल रुपाकोट मझुवागढी–७, चिउरीडाँडा सिर्जनाकुञ्ज निवासी राईले यसअघि पनि इडन व्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), संसाक भवानीशङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९) र साहित्यिक पत्रकार संघ स्वर्ण महोत्सव सम्मान (२०८०) प्राप्त गरिसकेका छन्।

शिक्षण पेशाबाट साहित्ययात्रा प्रारम्भ गरेका राई बालकथा, लघुकथा, हाइकु, मुक्तक, गीत, गजल र कविता विधामा समान दखल राख्छन्। उनका ‘टोली नेता’, ‘पोलेको मकै’ लगायतका कृति प्रकाशित छन्। उनी रावासावा प्राज्ञिक समाज नेपालका सचिव तथा लघुकथा समाज नेपाल शाखा खोटाङका प्रथम अध्यक्ष पनि हुन्।

यसै कार्यक्रममा राधेश्याम लेकाली, गंगा पौडेल कर्माचार्य, रेणुका भट्टराई, भीष्मराज ढुंगेल, विक्रमभक्त जोशी, रेणु अधिकारी ‘मौनता’, दीप सागर थापा मगर, गीता अर्याल, प्रेम खड्का र एन्जल्स वर्ल्ड इन्टरनेशनल एकेडेमीलाई पनि ‘गोधूलि भानु काव्य सम्मान–२०८२’ अर्पण गरिएको थियो।

प्रतिष्ठानले वरिष्ठ कवि तुलसी दिवसलाई ‘गोधूलि भानु शिखर अभिनन्दन’बाट विशेष सम्मानित गर्‍यो। कार्यक्रममा ललिता दोषीले स्वागत मन्तव्य, गोपीकृष्ण प्रसाई र प्रल्हाद पोखरेलले आदिकवि भानुभक्तको योगदानबारे मन्तव्य व्यक्त गरे।

तुलसी दिवसको प्रमुख आतिथ्य र पशुपति गुरुङको अध्यक्षतामा सम्पन्न समारोहमा ‘गोधूलि भानु काव्योत्सव’ अन्तर्गत राजन न्यौपानेको संयोजनमा कविता, गजल र मुक्तक वाचन कार्यक्रम पनि सम्पन्न भयो।

आशीष ऐडी, ओमकृष्ण प्रसाई, विश्वविमोहन श्रेष्ठ, राधेश्याम लेकाली, रश्मि रिमाल, द्वारिका कुइँकेललगायतले भानु समर्पित रचना वाचन गरेका थिए। कविहरूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो।

कार्यक्रमकै अवसरमा समाजसेवी तथा संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले आफ्नो २५ औं वैवाहिक वर्षगाँठको स्मृतिमा गोधूलि प्रतिष्ठानलाई ५ लाख ५ हजार ५ सय रुपैयाँको योगदान दिएकी छन्।

तपाईको प्रतिक्रिया