विष्णुप्रसाद देवकोटा
डाेल्पा ।डोल्पाको काईके गाउँपालिका–४ रिवा गाउँमा असार १२ गते राति परेको अबिरल वर्षापछि आएको भीषण बाढी र पहिरो पीडितहरूलाई प्रतिनिधिसभा सदस्य तथा पूर्व शहरी विकास मन्त्री धनबहादुर बुढाले आर्थिक सहायता उपलब्ध गराएका छन्।
स्थानीय सरकारद्वारा सुरु गरिएको राहत संकलन अभियानमा ऐक्यबद्धता जनाउँदै सांसद बुढाले १ लाख १ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्। प्राकृतिक प्रकोपबाट भौतिक सम्पत्तिमा गम्भीर क्षति पुगेको प्रति दुःख व्यक्त गर्दै उनले भविष्यमा यस्ता विपत्तिका लागि पूर्वतयारी र सचेतनाको आवश्यकता औंल्याए।
“रिवा लगायत डोल्पाका अन्य क्षेत्रहरूमा मानवीय क्षति नभए पनि संरचनात्मक नोक्सानी अत्यधिक छ। पूर्ण क्षति भएका घरपरिवारका लागि आवासको व्यवस्था गर्न म केन्द्र र सम्बन्धित निकायहरूसँग पहल गर्छु,” बुढाको भनाइ छ।
असार १२ गते राति १२ बजेतिर आएको बाढीले रिवा गाउँका तीन वटा घर र एक विद्यालय पूर्णरूपमा ध्वस्त बनाएको छ। मानवीय क्षति भने नभए तापनि पीडितहरूका घरहरू बस्न नमिल्ने अवस्थामा पुगेका छन्।
सिंगो रिवा बस्ती नै उच्च जोखिममा परेका कारण काईके गाउँपालिकाले ‘राहत कोष’ स्थापना गरी गाँस, बास र कपासको आवश्यकतामा केन्द्रित राहत संकलन गरिरहेको छ। बाढीपछिको संकट समाधान र पुनःस्थापनाका लागि स्थानीयदेखि संघीय तहसम्मको सक्रियताका लागि यो पहल प्रेरणादायी बन्ने अपेक्षा गरिएको छ।

डोल्पा न्यूज । १६ असार २०८२, सोमबार ०७:५३