विष्णुप्रसाद देवकोटा
काठमाडौँ । डोल्पाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद तथा पूर्व शहरी विकास मन्त्री धन बहादुर बुढाले १०६ मेगावाट क्षमताको जगदुल्ला हाइड्रोपावर आयोजनालाई अगाडि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
संघीय संसदको मंगलबारको बैठकमा बोल्दै सांसद बुढाले डोल्पा र कर्णाली प्रदेशको आर्थिक मेरुदण्डको रुपमा हेरिएको जगदुल्ला जलविद्युत् आयोजना योजनाबद्ध रुपमा असफल बनाउने प्रयत्न भइरहेको दाबी गरे। उनले राष्ट्रकै गौरवको आयोजना भएकाले यथाशीघ्र छानबिन गरी निर्माण प्रक्रिया अघि बढाउन आग्रह गरे।
बुढाले सामान्य उजुरीकै भरमा विकास निर्माण कार्य अवरुद्ध गर्नु अमोचित हुने धारणा राखे। ठेक्का छनोटमा कानुनी प्रक्रिया पालना भएको उल्लेख गर्दै उनले सार्वजनिक लेखा समितिमा परेका उजुरीलाई प्रक्रियागत ढाँचामा सम्बोधन गर्नुपर्ने बताए।
ऊर्जा मन्त्री र लेखा समितिका सभापतिसँग भेटवार्ता
सांसद बुढाले हालै ऊर्जा मन्त्री दीपक खड्का र सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पौडेलसँग छुट्टाछुट्टै भेट गरी जगदुल्ला आयोजनासम्बन्धी ठेक्का विवादबारे छलफल गरेका छन्। उक्त भेटमा मन्त्री खड्का र सभापति पौडेल दुबैजनाले “आयोजनामा देखिएको ठेक्का प्रक्रियासम्बन्धी विवादको चाँडै समाधान गरिने” आश्वासन दिएको सांसद बुढाले जानकारी दिए।
विवाद र स्थानीय आक्रोश
जगदुल्ला हाइड्रोपावर निर्माणको लागि २०७८ सालको जेठमा ठेक्का आह्वान गरिएको थियो। तर, सो प्रक्रिया ‘लाक्पा शेर्पा भोटे’ नामक एक नक्कली व्यक्तिको उजुरीमार्फत विवादमा तानिएको छ। बुढाले उक्त उजुरी ठेकेदार पक्षबाट नियोजित रुपमा गराइएको हुनसक्ने शंका व्यक्त गरे। एक व्यक्तिको विवादास्पद उजुरीका कारण राष्ट्रिय स्तरको आयोजना अवरुद्ध हुनु आपत्तिजनक भएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन्।
कार्य निरन्तरतामा विश्वास
जगदुल्ला जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक सञ्जय सापकोटाले आयोजनाका अन्य पक्षगत कार्यहरू यथावत् रुपमा अघि बढिरहेको जानकारी दिए। उनले ठेक्का विवादसम्बन्धी विषयमा सरोकारवाला निकायहरूबीच छलफल चलिरहेको भन्दै समाधानप्रति आशावादी रहेको बताए।
डोल्पा जिल्लाको सामर्थ्य र कर्णालीको ऊर्जा भविष्य बोकेको जगदुल्ला हाइड्रोपावरलाई विवादमा फसाउने नियोजित प्रयासको बीचमा सांसद बुढाले राजनीतिक तहबाट हस्तक्षेप गर्दै आयोजनालाई मार्ग प्रसस्त गराउन सक्रियता देखाएका छन्। अब सरकार र सरोकारवालाले यो आयोजनालाई दिगो र निष्पक्ष ढंगले अगाडि बढाउन आवश्यक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

डोल्पा न्यूज । ३१ असार २०८२, मंगलवार १८:०४