ताजा समाचार

छलगाड खोलामा यातायात अवरुद्ध, प्रमुख जिल्ला अधिकारीको निर्देशनमा अनुगमन

विष्णुप्रसाद देवकोटा

डाेल्पा, असार १३ — डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित छलगाड खोला अविरल वर्षापछि अत्यधिक रुपमा बढेपछि यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ। खोलामा पानीको बहाव उच्च रहेकाले यात्रुबाहक बस, जिप तथा मालवाहक ट्रकहरू खोलातर्फ पार हुन नसक्ने अवस्था सिर्जना भएको हो।

स्थिति गम्भीर देखिएपछि ठुलीभेरी नगरपालिकाका नगरप्रमुख श्वर्णकुमार बुढा, त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकाया, डोल्पाका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत, नेपाल प्रहरी तथा शसस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकहरू, नेपाली सेनाका सेनानी, पूर्वाधार विकास कार्यालयका प्रमुख टेक हितान, सम्बन्धित वडाध्यक्षहरू लगायतको उच्चस्तरीय टोलीले अनुगमन गरेको छ।

अनुगमनका क्रममा खोलापारि रोकिएका सवारीसाधनका चालक र यात्रुहरूको समस्या तत्काल समाधान गर्न प्रमुख जिल्ला अधिकारी महतले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। खोलापारिका यात्रुवाहक साधनहरूसँग भाडादर समन्वय गरी यात्रुहरूलाई सहज बनाउने र सडक मर्मत तथा वैकल्पिक व्यवस्था मिलाउने विषयमा समेत छलफल भएको छ।

जिल्ला प्रशासन कार्यालय डोल्पाले बाढीका कारण सवारी आवागमनमा परेको असरलाई गम्भीरताका साथ लिएर समन्वयात्मक प्रयास थालिएको जनाएको छ। आगामी दिनमा यस्ता घटनाबाट सुरक्षित रहन स्थायी समाधानका उपायहरू पनि तत्काल प्रारम्भ गरिने प्रमुख जिल्ला अधिकारी महतको भनाइ छ।

तपाईको प्रतिक्रिया