पुर्ण सार्की/ सुर्खेत:मध्यपश्चिम विश्वविद्यालयको तेश्रो दीक्षान्त समारोह सम्पन्न भएको छ।
शुक्रबार विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा कुलपति तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सभाध्यक्ष र जवाहरलाल नेहरू विश्वविद्यालयका अग्रज प्राध्यापक तथा सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. महेन्द्र पी लामाको प्रमुख आतिथ्यमा दीक्षान्त समारोहको उद्दघाटन गरिएको थियो।
विश्वविद्यालयको तेश्रो दीक्षान्त समारोहमा विश्वविद्यालयमा संचालित संकाय र स्कूलहरु बाट स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रममा सफलता प्राप्त गरेका दुई हजार एक सय उनान नब्बे जना , स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रममा सफलता प्राप्त गरेका एकहजार छ सय तेत्तीस जना र व्यवस्थापन संकायको दर्षनाचार्य शोधकार्य सम्पुर्ण पुरा गरेका १९ जना गरी जम्मा तीनहजार आठ सय एक चालीस जना विद्यार्थीहरु दीक्षित भएका छन्।
दीक्षान्त समारोहमा बोल्दै प्रधानमत्री ओलीले सरकारले गुणस्तरीय शिक्षालाई प्रवर्द्धन गर्ने गरी काम गरेको बताए ।
‘शिक्षा युगस्तरीय र गुणस्तरीय नभए मुलुक पछि पर्छ,’ उनले भने, ‘शिक्षा डिग्री प्राप्त गर्नु मात्र नभई जीवनलाई सही दिशा दिने हुनुपर्छ ।’ दीक्षित भएका विद्यार्थीलाई आफ्नै देशमा नवीनतम काम गर्न पनि उनले सुझाव दिए ।
‘अपार प्राकृतिक स्रोत र सम्पदा, विविधतायुक्त सामाजिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक सन्दर्भलाई ध्यानमा राखी आफ्नो अध्ययन, अध्यापन र अनुसन्धानलाई अघि बढाउन सके मात्र विश्वविद्यालय स्थापनाको औचित्य पुष्टि हुन्छ,’ उनले भने, ‘मध्यपश्चिम विश्वविद्यालय अधिकतम विद्यार्थीको रोजाइको विश्वविद्यालय बन्दै जानेछ ।’
साथै कर्णाली खस सभ्यताको राजधानी समेत भएको र महाभारत को युद्धमा समेत कर्णाली बासीको महत्वपूर्ण भुमिका रहेको समेत बताए।
विश्वविद्यालयले अहिले मानविकी र समाज शास्त्र, विज्ञान तथा प्रविधि, व्यवस्थापन , शिक्षा, कृषि, ईन्जिनियरिङ्, कानुन संकायमा स्नातक, स्नातकोत्तर, र विद्या बारिधीका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ।
कुल तीन हजार बढी विद्यार्थी दीक्षित हुने समारोहमा आठ सय ८५ जनाले मात्रै समारोहमा सहभागी हुन आवेदन दिएका थिए।
विश्वविद्यालय अन्तर्गत ७ वटा ग्रयाजुएट विद्यालय, १० आंगिक क्याम्पस ५२ शैक्षिक संस्थामा कुल दश हजार बढी विद्यार्थी अध्ययनरत छन्।
दीक्षान्त समारोहमा विश्वविद्यालयमा दीक्षित भएका विद्यार्थीहरु मध्ये उत्कृष्ट तीन जनालाई कुलपति पदक, ३ जनालाई उपकुलपति पदक र आंगिक क्याम्पसमा स्नातकोत्तर तहक उत्कृष्ट ३५ जनालाई प्रमाण पत्र र पदक समेत प्रदान गरिएको थियो ।
समारोहमा अवसरमा कुलपति ओली, प्रा. डा. लामा, प्रदेश प्रमुख यज्ञराज जोशि, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषदका सदस्यहरू , विश्वविद्यालयका उपकुलपति सगै विभिन्न संकायका प्रमुख सगै दीक्षित विद्यार्थी र उनका अभिभावकहरुको उपस्थित रहेको थियो ।
कुलपति एबम् प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहमा उपस्थित भै आज नै कर्णाली प्रदेश सभामा समेत सम्बोधन गरेका थिए। प्रदेश सभामा सम्बोधन गरे पछि प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश रंगशाला को निरीक्षण समेत गरेका थिए।