विष्णुप्रसाद देवकोटा
डोल्पा, जेठ ५ –आज देखि डाेल्पाका यार्सागुम्बायुक्त पाटनहरु खुला भएका छन । यार्सा पाटन खुलासंगै गाउँ सुनसान र पाटनहरु गुलजार बनेका छन ।
जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायाको अध्यक्षतामा बैशाख २१ गते बसेको जिल्लाको सर्वदलिय सर्वपक्षिय वैठकले जिल्लाका सवै यार्सापाटनहरु जेठ ५ गते आम संकलकहरुका लागी खुला गर्ने निर्णय गरेकाे थियाे ।
तर शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज वन क्षेत्रका पाटनहरु मात्र खुला भएका छन ।निकुञ्ज बाहेकका डिभिजन वन कार्यालय मातहतका र सामुदायिक वनमा पर्ने दर्जनौं पाटनहरु भने खुला भएका छैनन् ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण र हिमाली सौगातले सम्पन्न डोल्पाका गाउँ यतिखेर सुनसान छन्। कारण हो – बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनको सिजन।
वर्षको यही समय हो, जब डोल्पा जिल्लाका सयौं गाउँलेहरू आफ्नो घर–आँगन, खेतबारी, विद्यालय, स्वास्थ्य चौकी सबै छाडेर उकाली लाग्छन्, हिमाली पाटनतिर – यार्साको खोजीमा।पाटनहरु खुलासँगै खुल्दैछ हजारौं संकलकहरूको सपना। सागबारी, घोप्का, कुनास, रूपपाटन, प्यारीघोप्का, ठाँगेजस्ता दर्जनौँ पाटनहरूमा यार्साको खोजीमा डोल्पालीहरू लस्करै लागेका छन्।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले भने यार्सागुम्बा संकलनलाई व्यवस्थित बनाउन अनुमति शुल्क निर्धारण गरेको छ — निकुञ्ज भित्रका बासिन्दाका लागि रु ५००, जिल्लाभित्रकै अन्यका लागि रु २००० र बाहिरी जिल्लाका संकलकका लागि रु ३०००। तर शुल्क तिर्दैमा काम सकिँदैन — जंगलको सम्मान गर्ने शर्त पनि साथमा छ।
प्रकृति र परिश्रमको सौदाबाजी
डोल्पाका लागि यार्सा केवल जडीबुटी होइन — यो जिन्दगी परिवर्तन गर्ने अवसर हो। एक किलो यार्सा लाखौँ रुपैयाँमा बिक्री हुने हुँदा धेरैका लागि यार्साको सिजन सुनको समय जस्तै हो। यही आम्दानीले वर्षभरिको खर्च धान्ने, छोराछोरी पढाउने, घर बनाउने, औषधोपचार गराउने सपना बुन्छन् गाउँलेहरू।
तर यसको मूल्य पनि चुकाउनु पर्छ। गाउँहरू सुनसान छन्, विद्यालय बन्द हुने क्रम बढ्दो छ। “हरेक वर्षको जस्तै यसपालि पनि गाउँमा १ महिना जति मान्छे भेटिँदैन,” त्रिपुरा माबि काटियाचाैरका प्रधानाध्यापक तुलबहादुर विष्टले भन्नू भयाे ।
सावधानीका साथ संकलनको आग्रह
निकुञ्ज र वन कार्यालयले यार्सा संकलनलाई वातावरणमैत्री बनाउने प्रयास गरेका छन्। सिसा, प्लास्टिकजन्य फोहोर नफाल्न, जथाभावी रुखबिरुवा नकाट्न, अन्य जडिबुटी नचोरी संकलन गर्न आग्रह गरिएको डिभिजन वन कार्यालय डाेल्पाका प्रमुख मुनबहादुर रावतले बताउनु भयाे।उहाका अनुसार पाटनहरु खुलेकाे एक साता पछि डिभिजन वन कार्यालयले अनुगमन निरीक्षण गर्ने छ ।
डिभिजन वन कार्यालय मातहतका र सामुदायिक वनमा भने स्थानीय वन ब्यवस्थापन समितिले नै प्रवेश शुल्क लगायत सेवा शुल्क निर्धारण गर्ने र असुली गर्ने गर्दछन ।निकुञ्ज वन क्षेत्रका यार्सा पाटनहरुमा नेपाली सेना समेत परिचालित गरिएको छ, चोरी रोक्न।
बर्षनी जिल्ला भित्र र बाहिरबाट समेत हजारौं मानिसहरु यार्सागुम्बा संकलनकाे लागि पाटनहरुमा जाने गरेपनि बर्षनी यार्सागुम्बाकाे उत्पादनमा ह्रास हुँदै आएकाे छ।जलवायु परिवर्तन, मनपरी फोहोर र हिमपात नपर्नुजस्ता कारणले पछिल्ला वर्षहरूमा यार्साको उत्पादन घट्दै गएको स्थानीयहरू बताउँछन्।
हिमालको काखमा जिन्दगीको संघर्ष
डोल्पाका गाउँ अहिले खालि छन् — तर ती पाटनहरूमा भने जीवन धपक्क बलिरहेको छ। थकाइ, तृष्णा, शीतलहर, जोखिम, आशा अनि यार्साको मोह — सबै मिसिएको एक अनौठो यात्रा। गाउँ छाडेर पाटन चढ्ने यो यात्रा केवल यार्सा टिप्ने होइन, जीवन बटुल्ने संघर्ष हो।
डोल्पाको पाटनहरू यतिबेला फगत हरियालीका लागि होइन, गाउँलेहरूको सपनाको थलो बनेका छन्।