विष्णुप्रसाद देवकोटा
डोल्पा जिल्लाकाे त्रिपुरासुन्दरी नगरपालिका–७ छलस्थित धार्मिक पर्यटकीय क्षेत्र विकास अन्तर्गत बहुप्रतीक्षित जलधार क्षेत्र निर्माण सम्पन्न भएको छ।
नगरपालिकाको आन्तरिक स्रोतवाट सन्ताउन्न लाख रुपैयाँ लागतमा निर्माण गरिएको यस जलधार क्षेत्रले धार्मिक पर्यटन प्रवर्द्धन मात्र होइन, सामाजिक एकता र धार्मिक सहिष्णुता समेत बलियो बनाउने विश्वास गरिएको छ।
छल मष्टा भवानी मन्दिर कर्णालीकाे पवित्र धार्मिक केन्द्रका रूपमा चिनिने यो मन्दिर देवीको अद्भुत शक्तिकाे आस्थाको केन्द्र हो। किंवदन्ती अनुसार, प्राचीन कालमा यहाँ मष्टा देवीले दानव शक्तिहरूलाई पराजित गर्दै मानव जातिको कल्याणका लागि तपस्या गरेकी थिइन्। जनविश्वास अनुसार, यहाँ पूजाअर्चना गर्ने भक्तजनकाे मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।
बुधबार मात्रै नगरप्रमुख जनचन्द्र रोकायाको नेतृत्वमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकाया, ठुलीभेरी नगरका नगरप्रमुख सुवर्ण बुढा, प्रमुख जिल्ला अधिकारी रोमहादुर महत, प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्कालगायत धार्मिक अगुवा र वर्तमान तथा पूर्व वडाध्यक्षहरूको सहभागितामा जलधार क्षेत्रको स्थलगत अवलोकन गरिएको थियो।
उक्त अवसरमा त्रिपुरासुन्दरी नगरपालिकाको आयोजनामा रुद्रपाठ, होम यज्ञ लगायत धार्मिक अनुष्ठानहरू समेत गरिएका थिए।
जलधार निर्माण अन्तर्गत ५ वटा तामापित्तल जडित धारा निर्माण गरिएका छन्, जसले श्रद्धालुहरूलाई मन्दिर दर्शन गर्नुअघि पवित्र स्नान गर्न सहयोग पुर्याउनेछ। साथै, बच्चाहरूको मनोरञ्जनका लागि पौडी पोखरी समेत निर्माण गरिएको छ।
नगरप्रमुख जनचन्द्र रोकायाका अनुसार, “छलमष्टा भवानी आफैमा एक दिव्य शक्ति भएकाले, जलधारमा स्नान गरेर मन्दिरको दर्शन गर्ने जो–कोहीले मोक्ष र आत्मिक शान्ति प्राप्त गर्न सक्ने विश्वास गरिएको छ।”
धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको छल मष्टाभवानी क्षेत्रको यो विकासले कर्णालीकै पहिचानलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

डोल्पा न्यूज । १६ श्रावण २०८२, शुक्रबार ०८:१३